काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू स्वदेश फर्कन लागेको जानकारी गराउँदै देशलाई प्रतिशोधभन्दा सहकार्य र राष्ट्रिय एकताको आवश्यकता रहेको बताएका छन्।
मंगलबार जारी गरेको सन्देशमा देउवाले अहिलेको परिस्थितिमा प्रतिशोध र निषेधको राजनीतिभन्दा माथि उठेर राष्ट्र निर्माणका लागि साझा संकल्प आवश्यक भएको उल्लेख गरेका छन्।
उनले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा तथा नयाँ पुस्ताको ज्ञान, प्रविधि र सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र सहकार्य आजको आवश्यकता भएको बताएका छन्।
देउवाले देशलाई विभाजन होइन, एकता तथा अविश्वास होइन, विश्वास चाहिएको भन्दै लोकतान्त्रिक मूल्य र न्यायप्रतिको आफ्नो आस्था कायम रहेको उल्लेख गरेका छन्।
उनले सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्ने भए पनि नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि आफू पूर्ण रूपमा आशावादी रहेको बताएका छन्।
उपचारका लागि विदेशमा रहेका देउवा गत ७ चैत २०८२ मा सिंगापुरबाट थप उपचारका लागि हङकङ गएका थिए। त्यसअघि उनी १३ फागुन मा सिंगापुर प्रस्थान गरेका थिए।






