काठमाडौं । नेपाली कांग्रेसले विपद्का बेला भइरहेका सरकारी तथा गैरसरकारी कामकारबाहीबारे जनतालाई स्पष्ट जानकारी दिन संसद्को बैठक तत्काल आह्वान गर्नुपर्ने निष्कर्ष निकालेको छ।

सिंहदरबारमा सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले संसद् सञ्चालनका लागि सभामुखसँग छिटोभन्दा छिटो छलफल गर्ने निर्णय गरेको प्रमुख सचेतक बासना थापाले जानकारी दिइन्।

ADVERTISEMENT

उनका अनुसार जिल्ला तथा गाउँ–गाउँमा रहेका बेपत्ताका घटना सांसदमार्फत संसद्मा उठाउँदै समाधानका उपाय खोज्न संसद् सञ्चालन आवश्यक छ।

ADVERTISEMENT

बैठकले विपद् प्रभावितलाई राहत पुर्‍याउन कांग्रेसका सबै सांसदले आफ्नो आधा महिनाको पारिश्रमिक पार्टीको राहत कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ। साथै, अत्यावश्यक पूर्वाधारको तत्काल पुनर्निर्माण गरी प्रभावित क्षेत्रको जनजीवन सामान्य बनाउन सरकारसँग आग्रह गरिएको छ।

कांग्रेस सचेतक निष्कल राईले भने वास्तविक पीडित र आवश्यक परेका मानिसले प्रभावकारी रूपमा राहत पाउन नसकेको बताएका छन्। उनका अनुसार राहत सामग्री एकै ठाउँमा थुप्रिने तर वितरण प्रणाली प्रभावकारी हुन नसकेको अवस्था छ।

सरकारले अघि सारेको एकद्वार राहत प्रणालीमा स्थानीय तहसँग पर्याप्त समन्वय हुन नसकेको राईको भनाइ छ। त्यस्तै, उनले विपद्मा मृत्यु भएकाहरूको शव व्यवस्थापनसमेत जटिल बन्दै गएको बताए।

आवश्यक उपकरणको अभाव रहेको उल्लेख गर्दै राईले पीडित परिवारको भावना र परम्परागत संस्कारलाई ध्यानमा राखेर सुरक्षित तथा मर्यादित रूपमा शव व्यवस्थापन गर्न विज्ञसँग परामर्श गरेर अघि बढ्न सरकारसँग आग्रह गरिने बताए।