काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले १५औँ महाधिवेशनअन्तर्गतको समानान्तर वडा अधिवेशन आजदेखि सुरु गर्दैछ। संस्थापन पक्षले असोज १८ गतेदेखि १५औँ महाधिवेशनको तयारी गरिरहेका बेला देउवा पक्षले छुट्टै कार्यतालिका बनाएर महाधिवेशन प्रक्रिया अघि बढाएको हो।
देउवा पक्षले आफ्नो महाधिवेशन मङ्सिर २१ देखि २३ गतेसम्म गर्ने कार्यतालिका तय गरेको छ। सोहीअनुसार असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशन र मङ्सिर ४ गते प्रदेश अधिवेशन गर्ने तालिका बनाइएको छ।
समूहका नेता किरणराज पौडेलका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत पठाइसकिएको छ। आज हुने वडा अधिवेशनका लागि भने ५६ जिल्लामा निर्वाचन संयोजक खटाइएको छ।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको भन्दै तत्काल महाधिवेशन गर्न नहुने माग देउवा पक्षले गर्दै आएको थियो। तर संस्थापन पक्षले असोज ३ गतेदेखि नै महाधिवेशन प्रक्रिया अघि बढाएपछि देउवा पक्षले पनि छुट्टै कार्यतालिका बनाएर समानान्तर अधिवेशन थालेको हो।
देउवा पक्षीय महाधिवेशन आयोजक समितिका संयोजक डा. शशाङ्क कोइरालाले वडा तहदेखि नै संगठनलाई बलियो, अनुशासित र जनमुखी बनाउन आवश्यक रहेको बताएका छन्। उनले नेता, कार्यकर्ता र क्रियाशील सदस्यलाई उच्च मनोबल र सक्रियताका साथ वडा अधिवेशनमा सहभागी हुन अपिल गरेका छन्।
देउवा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक भएको दाबी गर्दै आएको छ। यही कारण संस्थापन पक्षले आह्वान गरेको १५औँ महाधिवेशन प्रक्रियामा यो समूह सहभागी भएको छैन।







