काठमाडौं । ककरोच जनता पार्टीका संस्थापक अभिजित दीपके पक्राउ परेका छन् । सोमबारदेखि सुरु भएको ‘चलो संसद्’ मार्चका क्रममा दिल्ली प्रहरीले दीपकलाई नियन्त्रणमा लिएको हो।
सीजेपीका प्रवक्ता सौरव दासले सामाजिक सञ्जालमार्फत सबै सांसदलाई तत्काल सडकमा उत्रिएर आन्दोलनरत विद्यार्थीको समर्थन गर्न आग्रह गरेका छन्। उनले शान्तिपूर्ण प्रदर्शनकारीमाथि प्रहरीले कुटपिट गरेकोसमेत बताएका छन्।
यसअघि अभिजित दीपके र सामाजिक अभियन्ता सोनम वाङचुककी पत्नी गीताञ्जली जे आङमोले संसद भवनतर्फ मार्च गर्न खोजेका थिए। तर प्रहरीले उनीहरूलाई बीचमै रोकेर प्रदर्शनकारीहरुलाई तितरबितर पार्न अश्रुग्याससमेत प्रहार गरेको बताइन्छ ।

सीजेपीका प्रवक्ता दासले आफू र अर्का प्रवक्ता आशुतोष रांकाले भारतीय स्वास्थ्यमन्त्री जेपी नड्डासँग उनकै निवासमा भेटवार्ता गरेको जनाएका छन् । ज्ञापनपत्र बुझाउने क्रममा मन्त्री नड्डाले उक्त विषयमा सरकारले छलफल गर्ने आश्वासन दिएका थिए ।
प्रदर्शनकारीहरु अघि बढेपछि नयाँ दिल्लीस्थित संसद भवनमा रहेका प्रधानमन्त्री नरेन्द्र मोदीलाई सुरक्षित रुपमा अन्यत्र सारिएको छ ।
सोमबार समाजवादी पार्टीका सांसदहरूलाई पनि गिरफ्तार गरिएको छ । जन्तर(मन्तरमा ठूलो संख्यामा भेला भएकाहरू संसद् भवन जान लाग्दा सुरक्षाकर्मीले बीचमै रोक्ने प्रयास गरेपछि तनाव सिर्जना भएको थियो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मार्चमा सहभागीहरूलाई तितरबितर बनाउन प्रहरीले लाठीचार्जसमेत गरेको छ । दिल्ली प्रहरीले मार्चका लागि अनुमति दिन नसकिने बताउँदै आएको छ । सोमबारदेखि नै संसद्को मनसुन सत्र सुरु भएकाले पनि प्रदर्शनकारी संसद् भवन पुगेर आफ्ना माग राख्न चाहेका छन् । प्रदर्शनकारीले हातहातमा भारतीय झण्डा बाेकेका छन् । जसलाई नेपालकाे जेनजी मुभमेन्टसँग दाँजेर प्रचार गर्न थालिएकाे छ ।





