काठमाडौं । भारतको ककरोच जनता पार्टी (सीजेपी) ले अक्टोबर २ मा मुम्बईमा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेको छ।
सीजेपीका संस्थापक अभिजीत दीपकेले सोमबार सामाजिक सञ्जाल एक्समार्फत पोस्टर सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्। उनले मुम्बईको शिवाजी पार्कमा प्रदर्शन गर्ने तयारी रहेको बताएका छन्।
सीजेपीले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आन्दोलन घोषणा गरेको हो। यसअघि पनि कुमारले राजीनामा नदिए अक्टोबर २ देखि मुम्बईबाट देशव्यापी आन्दोलन सुरु गर्ने दीपकेले बताएका थिए।
तर मुम्बई प्रहरीले शिवाजी पार्कमा प्रदर्शन गर्न सीजेपीलाई अनुमति दिएको छैन। प्रहरीले शिवाजी पार्कमा सभा वा प्रदर्शनका लागि अनुमति दिने अधिकार आफ्नो निकायसँग नरहेको तथा उक्त स्थानको प्रयोगसम्बन्धी अदालतको आदेश, सम्भावित ध्वनि प्रदूषण र ट्राफिक व्यवस्थापनका कारण अनुमति दिन नसकिएको जनाएको छ।
प्रहरीले आयोजकलाई मुम्बईका अन्य वैकल्पिक स्थान खोज्न सुझाव दिएको छ। अनुमति अस्वीकार भएपछि दीपकेले जनताको आवाज दबाउने प्रयास स्वीकार्य नहुने प्रतिक्रिया दिएका छन्। उनले प्रदर्शन रोकिए ‘जेल भरो आन्दोलन’ गर्ने बताएका छन्।
सीजेपीले निर्वाचन आयोगको कामकारबाही र मतदाता नामावलीसम्बन्धी प्रक्रियालाई लिएर प्रश्न उठाउँदै आएको छ। निर्वाचन आयोगले भने आयोगभित्रका निर्णयहरूमा फरक मत वा लिखित टिप्पणी हुनु संस्थागत प्रक्रियाकै हिस्सा भएको र महत्वपूर्ण निर्णयहरू सर्वसम्मत रूपमा भएको दाबी गर्दै सीजेपीका आरोप अस्वीकार गरेको छ।
अक्टोबर २ भारतमा महात्मा गान्धीको जन्मजयन्तीका रूपमा मनाइन्छ।








