काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार सुधारका लागि पुँजी बजार, धितोपत्र व्यवसाय तथा बिमा क्षेत्रका सरोकारवालाले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँग भेट गरी कानुनी र नीतिगत सुधारको माग गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको करिब डेढ घण्टाको छलफलमा पुँजीबजारको दिगो विकास, लगानीकर्ता संरक्षण, बजारमा तरलता वृद्धि तथा विदेशी लगानी आकर्षित गर्ने विषयमा विस्तृत छलफल भएको हो।
स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालका अनुसार टोलीले प्राथमिक निष्कासनदेखि दोस्रो बजारसम्मका व्यवस्था परिमार्जन, योग्य संस्थागत लगानीकर्तालाई आईपीओमा ४० प्रतिशतसम्म हिस्सा छुट्याउने, बुक बिल्डिङ प्रणाली प्रभावकारी रूपमा लागू गर्ने तथा मूल्य निर्धारण प्रणालीलाई थप पारदर्शी बनाउने प्रस्ताव राखेको थियो।
यसैगरी, इन्ट्रा–डे कारोबार, सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ, सेक्युरिटिज नेट सेटलमेन्ट प्रणाली र सर्ट सेल कारोबारलाई व्यवस्थित रूपमा सञ्चालन गर्नुपर्ने माग पनि गरिएको छ।
सरोकारवालाले पुँजीगत लाभकरको हालको व्यवस्थामा पुनर्विचार गर्दै नाफा–नोक्सान समायोजनपछि वास्तविक नाफामा मात्र कर लगाउने व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
गैरआवासीय नेपाली (एनआरएन) तथा विदेशी संस्थागत लगानीकर्तालाई दोस्रो बजारमा लगानी गर्न सहज वातावरण बनाउनुपर्ने विषय पनि छलफलमा उठाइएको थियो।
छलफलका क्रममा प्रधानमन्त्रीले सरकार लगानीकर्ताको पक्षमा रहेको र निजी क्षेत्रलाई विश्वासमा लिएर लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको बताएका छन्।
बैठकमा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष गोपाल भट्ट, नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्ष अमृत लम्साल, स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाललगायत सहभागी थिए।












