काठमाडौं । साताको कारोबारको चौथो दिन बिहीबार नेप्से परिसूचक घटेको छ। बुधबार सामान्य बढेको नेप्से आज पुनः घटेर बन्द भएको हो।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.१४ अंक घटेर २७२८.०३ विन्दुमा झरेको छ। १३ उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य अंक बढेको हो।
नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। बुधबार चार अर्ब २९ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३५० स्टकको ५८ हजार ३९१ पटकको कारोबारमा तीन अर्ब ९० करोड ६२ लाख ४४ हजार रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको छ।
सिटी होटल कम्पनीको यस दिन २३ करोड ६३ लाख ४३ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको छ। सेन्ट्रल फाइनान्सको साढे १७ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ भने बुंगल हाइड्रोको कारोबार रकम १६ करोड रुपैयाँ नाघेको छ।
बिहीबार दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सोपान फर्मास्यूटिकल्स र एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बोटलर्स नेपालको सेयरमूल्य करिब साढे ८ प्रतिशत र अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयरमूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ।








