काठमाडौं — फिफा विश्वकप फुटबलको फाइनलअघि अर्जेन्टिनाका कप्तान लियोनल मेसीले सामाजिक सञ्जाल इन्स्टाग्राममा साझा गरेको भावुक सन्देशले उनको अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको चर्चा चुलिएको छ।

स्पेनविरुद्धको उपाधि भिडन्तअघि मेसीले टोलीसँग बिताएको यात्रा, सहकर्मी र प्राविधिक टोलीप्रति आभार व्यक्त गर्दै यो यात्रालाई जीवनकै विशेष अनुभवका रूपमा उल्लेख गरेका छन्। उनले टोलीले इतिहास रचेको भन्दै त्यसलाई कसैले मेटाउन नसक्ने बताएका छन्।

ADVERTISEMENT

मेसीको पोस्टपछि समर्थकहरूले शुभकामनासँगै यसलाई उनको फुटबल करियरको बिदाइको सङ्केतका रूपमा पनि चर्चा गर्न थालेका छन्। यद्यपि, उनले सन्न्यासबारे कुनै औपचारिक घोषणा गरेका छैनन्। अमेरिकाको न्युयोर्क–न्यु जर्सीस्थित रंगशालामा आज राति हुने विश्वकप फाइनलपछि मात्रै मेसीको भविष्यबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

मेसीले लेखेका छन् – ‘यतिका वर्षहरूको सबैभन्दा सुन्दर कुरा केवल उपाधि जित्नु मात्र थिएन, यो समग्र यात्रा थियो । यो टोलीसँग हरेक दिन बिताउनु, सँगै प्रतिस्पर्धा गर्नु, गाह्रो समयमा मिलेर उठ्नु र यात्राको हरेक पाइलाको आनन्द लिनु नै सबैभन्दा विशेष रह्यो । मेरा हरेक साथीहरू, प्राविधिक टोली र यो राष्ट्रिय टोलीलाई सधैँ एउटा परिवारजस्तै राखिराख्न दिनरात मेहनत गर्ने सम्पूर्ण मानिसहरूलाई धेरै–धेरै धन्यवाद । भोलि जेसुकै भए पनि, यो टोलीले एउटा यस्तो इतिहास लेखिसकेको छ जसलाई हामीले कहिल्यै बिर्सने छैनौँ र कसैले पनि मेटाउन सक्ने छैन ।’

ADVERTISEMENT