काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा नेता झलनाथ खनालले प्रदेशमा कांग्रेससँग नभई कम्युनिस्टकै सरकार बनाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् । आइतबार विज्ञप्तिमार्फतले उनले नयाँ राजनीतिक समीकरण बनाउनुभन्दा पहिले विस्तृत छलफल गर्ने आवश्यक रहेको बताए ।

प्रदेशहरूमा सत्ता गठबन्धन गर्ने चर्चा चलेपछि नेकपाका नेता खनालले अपवित्र साँठगाँठतिर नलाग्न पार्टी नेतृत्वलाई चेतावनीसमेत दिएका छन् ।

ADVERTISEMENT

‘यो जटिल अवस्थामा नेपाली कम्युनिस्ट पार्टीले कुनै पनि नयाँ राजनीतिक समीकरणबारे सोच्नुभन्दा अगाडि कम्तीमा केन्द्रीय संयोजन समितिको बैठक बोलाइयोस्, आजको आवश्यकताका बारेमा कमिटीमा विस्तृत रूपले छलफल गरियोस् र क्रान्तिकारी उद्देश्य र वर्ग दृष्टिकोणलाई सर्वोपरी राखेर मात्र प्रदेशसभामा सरकार बनाउने सम्बन्धमा नीति निर्णय गरियोस् र पार्टीलाई दक्षिणपन्थी वर्ग सम्झौतावादको दलदलतिर जानबाट संस्थागत रूपले बचाइयोस्’, खनालले भनेका छन्, ‘केही नेताहरूको कुर्सी मोह र आत्म तृप्तिका निम्ति मात्र साँठगाँठ गर्ने प्रवृत्तिलाई रोकियोस् र आम जनतालाई क्रान्तिकारी परिवर्तनको दिशामा अघि बढाइयोस्। हामी नेपालका सबै कम्युनिस्ट र वामपन्थीहरूले बुझ्नुपर्छ(यो साँठगाँठको बेला होइन, सही कार्यदिशाका आधारमा पार्टीलाई पुनर्गठन र रूपान्तरण गर्ने बेला हो ।’

ADVERTISEMENT

खनालले बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार बनेपछि मुलुकका ज्वलन्त समस्याहरु समाधानको दिशातिर जान्छन् कि भन्ने आमजनताको आशाविपरीत मुलुकको राष्ट्रियता, राष्ट्रिय स्वतन्त्रता, जनताका जनजीविका, जनताका हित र अधिकारहरु, जनताको सुचना प्राप्त गर्ने हकहरु, छिमेकी मुलुकहरु संगका सम्बन्धहरु र राज्यकै विभिन्न अंगहरु बीचका सम्बन्धहरुसमेत खलबलिन थालेको दाबी गरेका छन् ।

‘यो देशका श्रमजीवी जनता खोलामा हामफाल्न र आत्महत्या गर्न वाध्य हुन थालेका छन्। यस्तो जटिल परिस्थितिमा बढ्दो विदेशी हस्तक्षेप र बढ्दो घरेलु अस्तव्यस्ताका विरुद्ध यो देशका आमजनता, तमाम देशभक्त, लोकतान्त्रिक, वामपन्थी, समाजवादी र प्रगतिशील शक्तिहरु एकतावद्ध भएको देख्न चाहन्छन्। यस्तो एकतालाई सम्पुर्ण वाममंथीहरुको एकतावद्ध पहलबाट भएको हेर्न चाहन्छन्,’ उनले भनेका छन् ।

ADVERTISEMENT

सुदूरपश्चिम प्रदेशबाट सुरु भएको सत्ताको किचलो कर्णाली, बागमती हुँदै लुम्बिनीसम्म पुगेको छ । गण्डकी र कोशी प्रदेशमा पनि कसको नेतृत्वमा सरकार बन्छ भन्ने एकिन छैन । मधेश प्रदेशमा भने कांग्रेस नेतृत्वकै सरकार कायम रहने एमाले र नेकपाले समझदारी गरेका छन् ।