काठमाडौं । एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल पनि माओवादीसहितको एकता घोषणा सभामा सहभागी भएका छन् ।
काठमाडौंको भृकुटीमण्डपमा विभिन्न कम्युनिष्ट घटकबीच एकता हुँदैछ। कार्यक्रम सुरु भइसकेपछि खनाल एकता सभामा पुगेका हुन् ।
पहिले खनालले पार्टीले माओवादीसहितका कम्युनिष्ट घटकहरूसँग हुन लागेको एकताको निर्णयमा आपत्ति जनाएका थिए। नयाँ दल दर्ता गर्ने तयारीमा रहेका उनले अन्ततः प्रचण्ड–माधव नेतृत्वको एकतामा सहभागी हुने निर्णय गरेका हुन्।
यसअघि उनी मंगलबार राति एमाले अध्यक्ष केपी ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका थिए। धेरैले खनाल एमालेमा फर्किने अनुमान पनि गरेका थिए । तर अहिले खनाल एकता सभामा गएपछि एमाले नेता कार्यकर्ताले फेरि उनको आलोचना गर्न थालेका छन् ।









