काठमाडौं । भारतमा हाइड्रोजनबाट सञ्चालित रेल सेवा सुरु भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको पहिलो हाइड्रोजन–सञ्चालित रेलको उद्घाटन गरेका छन् ।
यो रेल उत्तरी राज्य हरियाणाको ८९ किलोमिटर लामो जिन्द–सोनिपत रुटमा सञ्चालन हुनेछ । भारतमा पहिलोपटक स्वदेशमै विकसित हाइड्रोजन इन्धन सेल प्रविधिको प्रयोग गरी रेल सञ्चालन गरिएको हो ।
यो प्रविधिले हाइड्रोजन इन्धन सेलको माध्यमबाट विद्युत उत्पादन गर्दछ, जसलाई डिजेलबाट चल्ने रेलको तुलनामा स्वच्छ र वातावरणमैत्री विकल्प मानिएको छ ।
भारत अब हाइड्रोजन रेल सञ्चालन गर्ने चीन, जर्मनी, जापान र अमेरिका जस्ता सिमित देशहरूको समूहमा सामेल भएको छ । यस प्रणालीको मुख्य केन्द्रमा १,२०० किलोवाटको ‘प्रोटोन एक्सचेन्ज मेम्ब्रेन फ्युल सेल’ रहेको छ । यसले हाइड्रोजन र अक्सिजनबीच हुने रासायनिक प्रतिक्रियाबाट विद्युत उत्पादन गर्दछ ।
१० वटा कोच रहेको यस हाइड्रोजन रेललाई अधिकतम ७५ किलोमिटर प्रतिघण्टाको गतिमा सञ्चालन गर्न अनुमति दिइएको छ भने यसको डिजाइन गति ११० किलोमिटर प्रतिघण्टा रहेको छ । यस रेलमा करिब २,६०० यात्रुले यात्रा गर्न सक्ने क्षमता छ ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले अन्य देशहरूले केवल तीन वा चार कोच भएको हाइड्रोजन रेलहरू सञ्चालन गर्दै आएको बताउँदै भारतले १० कोच र ३,२०० हर्सपावर क्षमता भएको रेल निर्माण गरेर विश्वमा नयाँ पहिचान स्थापित गरेको जानकारी दिए । ‘हाइड्रोजन रेल धुवाँरहित मात्र होइन, तर मेक इन इन्डिया अभियानको सफल उदाहरण पनि ह,’ उनले भने । रेल भारतीय इन्जिनियरहरूद्वारा डिजाइन गरिएको र एक भारतीय कम्पनीद्वारा निर्मित गरिएको हो।
पश्चिम एसियामा जारी द्वन्द्व र होर्मुज जलडमरूममा तनावलाई उल्लेख गर्दै मोदीले भारतले समुद्री मार्गबाट पेट्रोलियम पदार्थ, एलपीजी र मलको ठूलो हिस्सा आयात गर्दै आएको बताए । ‘यदि भारतीय रेलवे अझै पनि डिजेलमा निर्भर रहेको भए, २०१४ भन्दा पहिले जस्तै, तेल आपूर्तिमा अवरोधले ठूलो संकट सिर्जना गर्ने थियो,’ उनले भने ।










