नयाँ दिल्ली । भारतले पहिलोपटक हाइड्रोजनबाट सञ्चालित रेल सञ्चालनमा ल्याएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियाणाको जिन्द रेलवे स्टेशनमा आयोजित समारोहबीच आइतबार उक्त रेलको उद्घाटन गर्नुभएको हो।
यो रेल हरियाणाको जिन्द–सोनिपत रेलमार्गमा करिब ९० किलोमिटर दूरी तय गर्नेछ। प्रतिघण्टा ११० किलोमिटरको गतिमा सञ्चालन हुने यो रेल पूर्ण रूपमा वातावरणमैत्री रहेको भारतीय पक्षको दाबी छ। हाइड्रोजन इन्धनबाट चल्ने भएकाले यसबाट शून्य कार्बन उत्सर्जन हुने बताइएको छ।
उद्घाटन समारोहमा प्रधानमन्त्री मोदीले १५७ किलोमिटर लामो दिल्ली–अमृतसर–कटरा एक्सप्रेस–वेलाई पनि राष्ट्रलाई समर्पण गर्नुभएको छ। यसले यात्राको समय उल्लेखनीय रूपमा घटाउने अपेक्षा गरिएको छ।
रेलमन्त्री अश्विनी वैष्णवले हाइड्रोजन रेललाई भारतीय रेल सेवाको ऐतिहासिक उपलब्धि भएको बताउँदै यसमा डिजेल वा पेट्रोल आवश्यक नपर्ने र पूर्ण रूपमा स्वच्छ ऊर्जामा आधारित रहेको जानकारी दिनुभयो।
नयाँ रेलमा एकैपटक २ हजार ६०० यात्रु अट्ने क्षमता रहेको छ। भारतीय रेल्वेले आगामी दिनमा अन्य रेलमार्गमा पनि हाइड्रोजन प्रविधि विस्तार गर्ने तयारी गरेको जनाएको छ। रेलको डिजाइन भारतीय इन्जिनियरहरूले तयार पारेका हुन् भने यसको निर्माण पनि स्वदेशी कम्पनीले गरेको हो।





