काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै यही अवस्था रहे सरकार पाँच वर्ष नटिक्ने संकेत देखिएको बताएका छन्।
पार्टीको खाँडादेवी–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै घिसिङले सरकार गलत बाटोमा अघि बढे सडक आन्दोलनमा उत्रिने चेतावनी पनि दिए। उनले सरकार पाँच वर्ष टिकोस् भन्ने आफ्नो चाहना भए पनि वर्तमान कार्यशैलीले त्यो सम्भावना कमजोर बनाएको बताए।
‘हाम्रो चाहना सरकार पाँच वर्ष टिकोस् भन्ने हो। तर यस्तो तालले सरकार पाँच वर्ष टिक्दैन। रास्वपाले पनि बोल्ने एउटा, गर्ने अर्को काम गरिरहेको छ,’ उनले भने।
घिसिङले ठूलो जनादेशसहित बनेको सरकारले जनताको अपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाए। दुईतिहाइको समर्थन पाएको सरकारले आम नागरिकका समस्या, अपेक्षा र मागलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।
पछिल्लो केही महिनामै पाँच जना नेपालीले आत्मदाह गर्नुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै उनले त्यसलाई व्यक्तिगत घटना मात्र नभई समाजमा बढ्दो निराशाको संकेत भएको बताए।
यस्तो अवस्था सिर्जना हुनुमा सम्बन्धित सबै पक्ष जिम्मेवार भए पनि सबैभन्दा बढी जिम्मेवारी सरकारकै हुने उनको भनाइ थियो।






