काठमाडौं। नेपालको अडियो तथा वेयरेबल्स ब्रान्ड अल्टिमा लाइफस्टाइलले देशकै पहिलो ‘अथोराइज्ड रिसेलर प्रोग्राम’ सार्वजनिक गरेको छ। नेपाली उपभोक्ता इलेक्ट्रोनिक्स ब्रान्डमध्ये पहिलो पटक यस्तो रिसेलर कार्यक्रम सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार नयाँ कार्यक्रममार्फत खुद्रा व्यवसायीहरूले अब सिधै अल्टिमासँग कारोबार गर्न सक्नेछन्। यसबाट उनीहरुले प्रतिस्पर्धात्मक मूल्य, बढी नाफाको अवसर, व्यवसायमा सहयोग, अग्रिम सेवा तथा विशेष पार्टनरशिप सुविधाहरू प्राप्त हुने कम्पनीले बताएको छ ।
अल्टिमाले यो कार्यक्रममार्फत देशभरका खुद्रा विक्रेतासँग दीर्घकालीन साझेदारी विस्तार गर्दै आफ्नो बजार सञ्जाललाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। कम्पनीका अनुसार कार्यक्रममा सहभागी व्यवसायीले विशेष प्रचार–प्रसार, सामान प्रदर्शनका अवसर, व्यवसाय विस्तारका लागि विभिन्न सुविधा तथा प्रडक्ट बिक्रिका आधारमा वार्षिक प्रोत्साहनसमेत पाउनेछन्।
यस अन्तर्गत व्यवसायीको कारोबार क्षमता अनुसार तीन प्रकारका साझेदारी अवधारणा तयार गरिएको छ।
जसमा गोल्ड अथोराइज्ड रिसेलरका लागि अल्टिमाका सबै उत्पादनको न्यूनतम एक–एक युनिट स्टकमा राख्नुपर्नेछ भने वार्षिक खरिद लक्ष्य २० लाख रुपैयाँ निर्धारण गरिएको छ।
डायमण्ड अथोराइज्ड रिसेलर बन्न प्रारम्भिक खरिद कम्तीमा ५ लाख रुपैयाँको हुनुपर्नेछ भने वार्षिक खरिद लक्ष्य ५० लाख रुपैयाँ तोकिएको छ।
त्यस्तै, प्लाटिनम अथोराइज्ड रिसेलरका लागि प्रारम्भिक खरिद २० लाख रुपैयाँ वा सोभन्दा बढी हुनुपर्नेछ भने वार्षिक खरिद लक्ष्य १ करोड रुपैयाँ राखिएको कम्पनीले जनाएको छ।
उत्कृष्ट रिसेलरलाई विदेश भ्रमणदेखि नगद पुरस्कारसम्म
कार्यक्रमअन्तर्गत वार्षिक लक्ष्य पूरा गर्ने वा लक्ष्यभन्दा बढी कारोबार गर्ने रिसेलरहरूलाई विशेष पुरस्कार प्रदान गरिनेछ। कम्पनीका अनुसार उत्कृष्ट व्यवसायीले थाइल्यान्ड भ्रमण, रोयल एनफिल्ड मोटरसाइकल तथा ५ लाख रुपैयाँसम्म नगद पुरस्कार प्राप्त गर्न सक्नेछन्। यी सुविधामा कम्पनीले तोकेका सर्त तथा नियम लागू हुनेछन्।
खुद्रा बजार सुदृढ बनाउने लक्ष्य
अल्टिमा लाइफस्टाइलले यो कार्यक्रमले नेपालको उपभोक्ता इलेक्ट्रोनिक्स बजारमा व्यवस्थित र दिगो खुद्रा व्यापार प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ। कम्पनीका अनुसार प्रत्यक्ष ब्रान्ड साझेदारीमार्फत व्यवसायीको नाफा वृद्धि गर्नुका साथै ग्राहकसम्म गुणस्तरीय र मौलिक उत्पादन सहज रूपमा पुर्याउने उद्देश्य राखिएको जनाएको छ ।







