काठमाडौं । उच्च अदालत पाटनले बुद्ध एयर प्रालिकाे ख वर्गकाे सञ्चालक सदस्य नियुक्ति खारेज गरेकाे छ । अदालतकाे वाणिज्य इजलासले ‘ख’ वर्गका सेयरधनीको तर्फबाट देव्यानी बस्नेतलाई सञ्चालक सदस्य नियुक्त गर्ने निर्णय बदर गरेकाे हाे ।
यसअघि कम्पनी रजिस्ट्रार कार्यालयले बुद्ध एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले देव्यानीलाई ‘ख’ वर्गका सेयरधनीको तर्फबाट सञ्चालक नियुक्त गर्न दिएको निवेदन स्वीकार गरेको थियो। तर उच्च अदालतले उक्त निर्णयलाई खारेज गर्दै नियुक्तिलाई वैधानिक मान्यता नदिएको हो।
४० प्रतिशत सेयरधनी समूहका तर्फबाट अर्चना बस्नेतले शिवानी बस्नेतलाई सञ्चालक सदस्यमा सिफारिस गरेकी थिइन्। तर अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले ६० प्रतिशत बहुमतको आधारमा देव्यानीलाई सञ्चालक नियुक्त गरेका थिए। अल्पमत पक्षले दुई वर्षदेखि शिवानीलाई सञ्चालक नियुक्त नगरेको भन्दै असन्तुष्टि जनाउँदै आएको थियो।
अदालतकाे याे आदेशपछि शिवानी बस्नेत सञ्चालक बन्ने बाटो खुलेको छ। देव्यानी र शिवानी एकाघरका दिदीबहिनी हुन्।
यो पनि पढ्नुहोस् :
फुटको डिलमा बुद्ध एयर, बहुमत सेयरको आडमा कम्पनीमा वीरेन्द्रबहादुर बस्नेतको मनपरी
यस्तै, अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले शिवानी बस्नेतले नेपाली नागरिकता नबुझाएको दाबी गर्दै कारबाही र दुई वर्ष जेल सजायको मागसहित दायर गरेको अर्को रिट पनि उच्च अदालतले खारेज गरेको छ। वीरेन्द्रबहादुरले शिवानी गैरआवासीय नेपाली (एनआरएन) भएको दाबी गर्दै नागरिकता पेश गर्न माग गरेका थिए।यस अघि वृत्तान्त न्युजले बहुमत र अल्पमतको सेयर स्वामित्वको विषयकै कारण बुद्ध एयर फुटमा लगायतका समाचार निरन्तर प्रकाशित गर्दै आएको छ ।





