काठमाडौं । चालू आर्थिक वर्षको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ। पछिल्ला तीन कारोबार दिनदेखि नेप्से परिसूचक बढिरहेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.५० अंक बढेर २५९७.८० विन्दुमा पुगेको छ। १३ मध्ये नौ उपसमूहको परिसूचक बढेको छ । म्युचुअल फण्ड उपसमूहको परिसूचक सर्वाधिक १.६६ प्रतिशत बढेको छ। लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। वित्त, होटल तथा पर्यटन, जलविद्युत र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सामान्य घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। बुधबार चार अर्ब १७ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । आज ३७१ स्टकको ३९ हजार ५९५ पटकको कारोबारमा चार अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँबराबरको ९४ लाख ६९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
सिंगटी हाइड्रो इनर्जी कम्पनीको २४ करोड ७४ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ। २३ करोड रुपैयाँबराबरको ८.५ प्रतिशत सानिमा डिबेञ्चर २०८७ किनबेच भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ।
आज एनआईबिएल ग्रोथ फण्डको इकाईमूल्य सर्वाधिक १४.९६ प्रतिशत बढेको छ। फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे १४ प्रतिशत र चिरख्वा हाइड्रोपावरको शेयरमूल्य करिब साढे १४ प्रतिशत बढेको छ।





