काठमाडौं। नेपालकै लोकप्रिय निजी क्षेत्रको हवाई कम्पनी बुद्ध एयर प्रा.लि.को सम्पत्ति हडप्न अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले गर्दै आएका हर्कतको अहिले कानुनी परीक्षण भइरहेको छ। बुद्ध एयरमा वीरेन्द्रबहादुर र उनका भाइ शिवेन्द्रको परिवारको पूर्ण स्वामित्व छ। कम्पनीको ५० लाख सेयरमध्ये ६० प्रतिशत वीरेन्द्रबहादुर, उनकी श्रीमती र दुई छोरीको नाममा छ। बाँकी ४० प्रतिशत भाइबुहारी अर्चना, दुई छोरी र एक छोराको नाममा छ।

वीरेन्द्रबहादुरले ६० प्रतिशत सेयर आफ्नो परिवारको नाममा भएकाले आफूलाई ‘क’ वर्गको सेयर होल्डर र भाइको परिवारलाई ‘ख’ वर्गको सेयर होल्डर कायम गराई कम्पनी आफ्नो मुठ्ठीमा राखेका छन्। यसका लागि उनले ४० प्रतिशत सेयर स्वामित्व भएको भाइको परिवारमा फुट ल्याएर बुद्ध एयरमा आफूखुसी राज गरिरहेको पाइएको छ।

ADVERTISEMENT

बुद्ध एयरमा २५ प्रतिशत अर्चना बस्नेत तथा शिवानी, देव्यानी र आदर्शको नाममा पाँच–पाँच प्रतिशत सेयर स्वामित्व छ। यसरी सो पक्षबाट सबै निर्णय गर्ने अधिकार अर्चना बस्नेतको हुनुपर्ने हो। तर वीरेन्द्रले कान्छी भतिजी देव्यानीलाई विभिन्न प्रलोभन र लालच देखाएर ‘ख’ वर्गको सेयर होल्डरका तर्फबाट कम्पनीमा सञ्चालक नियुक्त गरे। देव्यानीको पहिलो कार्यकाल आर्थिक वर्ष २०७७/७८ मै सकिएको हो। त्यसपछि ‘ख’ वर्गको सेयर होल्डरका तर्फबाट शिवानी बस्नेतलाई सञ्चालक सदस्य पठाउने निर्णय भयो। तर वीरेन्द्रबहादुरले त्यसलाई ठाडै अस्वीकार मात्र गरेनन्, फेरि देव्यानीलाई नै सञ्चालक सदस्यमा नियुक्त हुन पाऊँ भन्दै सञ्चालक समितिमा निवेदन हाल्न लगाएर नियुक्त गरे। त्यसलाई लिएर विरोध हुँदै आएको छ।

ADVERTISEMENT

यदि जेठी भतिजी शिवानी आएमा आफ्नो एकलौटीमा ‘ब्रेक’ लाग्ने आशंकामा वीरेन्द्रले देव्यानीलाई काखी च्यापेका छन्। स्रोतका अनुसार देव्यानी ठूलोबुबाकै निर्देशनमा चल्ने गरेकी छन्। उनी आफ्नो घरपरिवारका सदस्यहरूसँग खुलेर कुराकानी गर्न चाहन्नन्। यदि देव्यानीले चाहेमा वीरेन्द्रबहादुर र सुनिता बस्नेतको मनपरी सजिलै नियन्त्रण गर्न सक्थिन्। तर देव्यानीलाई त्यसबारे कुनै इच्छै नभएको बताइन्छ।

बुद्ध एयरले हालिदिने तलब र सुविधामै देव्यानी मख्ख परेको बुझिएको छ। देव्यानीको यही कमजोरीको फाइदा वीरेन्द्रबहादुरले उठाउने गरेको बुद्ध एयरका एक उच्च अधिकृतले बताए। उनका अनुसार वीरेन्द्रबहादुरको ‘फुटाऊ र राज गर’ भन्ने नीति सफल देखिएको छ। कान्छी भतिजी देव्यानीलाई आफ्नो पक्षमा पारेपछि वीरेन्द्रबहादुरले कम्पनीमा ६५ प्रतिशत बहुमत देखाएर आफूअनुकूलका निर्णय गराएका छन्।

ADVERTISEMENT

तर ४० प्रतिशत सेयर होल्डर (अल्पमत सेयरधनी) पक्षले भने वीरेन्द्रबहादुरका हरेक निर्णयलाई चुनौती दिँदै जिल्ला, उच्च र सर्वोच्च अदालतमा मुद्दा हालेको छ। वीरेन्द्रबहादुरले भने शक्ति र पैसाको आडमा अल्पमत सेयरधनीलाई पेल्ने क्रम रोकिएको छैन। पछिल्लोपटक उच्च अदालत पाटनमा आफूविरुद्ध मुद्दा हाल्न पनि अल्पमत सेयरधनीले १० करोड रुपैयाँ धरौटी राख्नुपर्ने मागसहित वीरेन्द्रबहादुरले मुद्दा दायर गरेका थिए। आफ्नो विपक्षमा आदेश आएपछि भने उनी तिल्मिलाएका छन्। बुद्ध एयर प्रा.लि.का विषयमा सर्वोच्च अदालतमा विभिन्न कानुन व्यवसायीले गरेका बहस नोटको लिखित प्रतिलिपि उच्च अदालत पाटनले मगाएको छ।