काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले गाडीले गेट छेक्न सकिए पनि जनताको आवाज छेक्न नसकिने बताएका छन् ।

सोमबार कान्तिपुर, अनलाइनखब, हिमालय टिभीको कार्यालय अगाडि र कांग्रेस सभापति गगन थापाको रातोपुलस्थित भग्नावशेष घरको अगाडि गाडी शंकास्पद ढंगले पार्किङ गरिएको घटनाप्रति आलोचना व्यक्त गर्दै उनले सरकार नै आवाज थुन्ने प्रयासमा लागेको बताएका छन् । उनले लोकतन्त्रमा सरकारको सबैभन्दा ठूलो शक्ति आलोचना सहने क्षमता भएको उल्लेख गर्दै तर, जब सरकार आलोचनाबाट डराउन थाल्छ, तब उसले प्रश्नकर्ताहरूलाई नै निशाना बनाउन खोज्ने उल्लेख गरेका छन् ।

ADVERTISEMENT

‘सोमबार प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगै सञ्चारगृहहरू कान्तिपुर, अनलाइनखबर, हिमालयन टेलिभिजन तथा भाटभटेनी सुपरमार्केट अगाडि शंकास्पद रूपमा सवारीसाधन पार्क गरिएका घटनाले यही प्रश्न उब्जायो( के सरकारले अब आलोचनात्मक आवाज नै बन्द गर्न खोजेको हो ?’ मंगलबार बिहान सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा सार्वजनिक गरेका छन् ।

गेटअगाडि गाडी राखिएको घटना बाटो छेक्ने मात्रै नभएर आलोचनात्मक आवाज थुन्ने प्रयास भएको उनको भनाइ छ । ‘यो घटना स्वतन्त्र प्रेससँगै विपक्षी दलका नेतृत्वलाई मनोवैज्ञानिक दबाबमा राख्ने, डर देखाउने र ‘प्रश्न गर्‍यौ भने परिणाम भोग्नुपर्छ भन्दै तर्साइएको हो,’ उनले भनेका छन् ।

ADVERTISEMENT

नेता आङ्देम्बेले यतिबेला सहकारी पीडित सडकमा रहेको, मिटरब्याजपीडित तराई मधेशदेखि न्याय खोज्दै काठमाडौंतर्फ आइरहेको, सुकुम्बासी समस्या झन् जटिल बन्दै गएको भन्दै इस्यु डाइभर्ट गर्न सरकारले यस्तो कदम चालेको उनको ठहर छ ।

‘राज्यपक्षबाट भएको दुर्व्यवहारले मुगुका २५ वर्षीय गणेश नेपालीले आत्मदाह गरे । हिजो १०० दिनमै रोजगारी दिने बाचा गर्ने नेताको दलले शक्तिशाली सरकार चलाइरहँदा पनि बाचा पूरा गर्नेतर्फ अग्रसर नहुँदा निराश भएर सर्लाहीका विवेक मण्डलले पनि आत्मदाह गरे । यसअघि एकपछि अर्को सुकुम्बासीले राज्य दमन सहन गर्न नसकी आत्महत्या गरेको कारूणिक दृष्यहरू सार्वजनिक भए । बेरोजगारी समस्या र सुशासनका प्रश्न दिनप्रतिदिन गहिरिँदै गएका छन् । यी विषयमा जवाफ दिन नसकेको सरकार प्रश्न गर्ने सञ्चारमाध्यम र प्रतिपक्ष दलका नेतामाथि नै दबाब सिर्जना गर्ने शैलीतर्फ उन्मुख देखिएको छ । यो लोकतन्त्रको बाटोबाट सत्ताको नेतृत्वमा पुगेका प्रधानमन्त्रीजीले मानसपटलमा उत्तर कोरिया बोकेर हिँड्दाको पराकाष्टता हो,’ उनले भनेका छन् ।