काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जोखिमयुक्त बस्तीबाट हटाइएका सुकुम्बासी नागरिकलाई सुरक्षित स्थानमा व्यवस्थापन गर्ने सरकारको दाबी व्यवहारमा असफल भएको बताएका छन् । उनले सुकुम्बासी व्यवस्थापनमा सरकार असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री वालेन्द्र शाहलाई आफ्नै सार्वजनिक प्रतिबद्धताको जवाफ दिन आग्रह गरेका छन् ।

आङ्देम्बेले कीर्तिपुरस्थित होल्डिङ सेन्टर डुबानमा परेपछि सरकारले नागरिकलाई एउटा जोखिमबाट निकालेर अर्को जोखिममा पुर्‍याएको आरोप लगाएका हुन् ।

ADVERTISEMENT

यसअघि प्रधानमन्त्री शाहले प्रतिनिधिसभा बैठकमा जोखिमपूर्ण स्थानमा बसोबास गरिरहेका नागरिकलाई सुरक्षित तथा व्यवस्थित रूपमा स्थानान्तरण गर्ने सार्वजनिक प्रतिबद्धता जनाएको स्मरण गराउँदै आङ्देम्बेले त्यसको कार्यान्वयनबारे प्रश्न उठाए ।

‘प्रधानमन्त्रीजीले जोखिममा रहेका नागरिकलाई सुरक्षित र व्यवस्थित स्थानान्तरण गर्ने प्रतिबद्धता गर्नुभएको थियो । आज म सोध्न चाहन्छु, त्यो प्रतिबद्धता कहाँ हरायो ? के यही हो तपाईंले वाचा गर्नुभएको सुरक्षित व्यवस्थापन ?,’ उनले भने ।

ADVERTISEMENT

सुरक्षित आश्रयको आश्वासन दिएर कीर्तिपुरको होल्डिङ सेन्टरमा राखिएका सुकुम्बासी नागरिक अहिले डुबान, हिलो, अभाव र असुरक्षाबीच बस्न बाध्य भएको आङ्देम्बेको भनाइ छ । छन् ।

उनले होल्डिङ सेन्टरमा पुगेर विस्थापितहरूको अवस्था बुझ्न तथा सरकारसँग जवाफ माग्न गएका युवालाई नियन्त्रणमा लिइएको घटनाप्रति पनि आपत्ति जनाए । माजिद अन्सारीसहितका युवालाई प्रहरीले नियन्त्रणमा लिएको उल्लेख गर्दै उनले लोकतान्त्रिक व्यवस्थामा प्रश्न उठाउने अधिकारमाथि हस्तक्षेप भएको आरोप लगाए ।

प्रधानमन्त्रीले आफ्नै प्रतिबद्धता कार्यान्वयन गर्न नसकेको अवस्थामा आत्मसमीक्षा गर्नुको सट्टा आलोचना गर्ने नागरिकमाथि दमन गर्न खोजेको आरोप पनि उनले लगाए । यस्तो प्रवृत्तिले लोकतन्त्र, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार कमजोर हुने उनको भनाइ छ ।