काठमाडौँ । नेपाली का‌ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई ‘गरिबको चमेली बोल्दिने कोही छ’ भन्न सुझाव दिएका छन् । चुनावपछि नयाँ सरकार बन्दा जस्तो उत्साह थियो, त्यो चरम निराशामा परिणत भइसकेको भन्दै त्यसलाई चिन आवश्यक रहेको बताएका छन् ।

नेपाली समाजमा निराशा चिर्न राज्य चाहिएको भन्दै शर्माले आशा जगाउन सरकारसँग हातेमालो गर्न कांग्रेस तयार रहेको बताएका हुन् । उनले बिचल्लीमा परेका सुकुम्बासी र आत्मदाह गरेका गणेश नेपालीको घटनालाई गम्भीरतापूर्वक लिएर आशा जगाउनेगरी काम गर्न प्रधानमन्त्री शाहलाई सुझाव पनि दिएका छन् ।

ADVERTISEMENT

‘विकट गाउँबाट आएका गणेश नेपालीले आत्मदाह गरे । कीर्तिपुरको होल्डिङ सेन्टरमा साना नानीबाबुहरु भोकले तड्पिरहेका छन् । वृद्ध बाआमा रोगले मरिरहेका छन् । सरकारले बर्खाको बेलामा उठिबास लगाएर आफ्नै देशभित्र शरणार्थी बनाएका सुकुम्बासीहरु अझै कष्टकर जीवन बिताइरहेका छन्,’ सामाजिक सञ्जालमा भिडियो जारी गर्दे उनले भनेका छन्, ‘यस्तो बेलामा हामी सरकारलाई प्रश्नले घेर्ने होइ,न सहकार्य गर्न चाहन्छौं समाजमा आशा जगाउन ।’

शर्माले नयाँप्रतिको विश्वास किन खण्डित भइरहेको छ भनेर पनि सोच्न सुझाएका छन् । ‘हिजो हाम्रो पालामा प्रेम आचार्यले आत्मदाह गर्नुभयो । आज गणेश नेपालीले आत्मदाह गर्नुभयो । समाजमा यो प्रकारको निराशा किन हुँदैछ ? मानिसमा किन आशा टुट्यो ? हामी पुरानाप्रतिको विश्वास टुट्यो, तर नयाँप्रतिको विश्वास किन खण्डित हुँदैछ । मूल प्रश्न यो हो,’ उनले भने, ‘हामी यसमा राजनीतिक कोणबाट हेर्न चाहँदैनौ । सिंगो समाजमा आशा मर्दै गयो भने आशा मरेको समाज बन्नका लागि झन् ढिलो ढिलो हुन्छ भन्ने कुराका प्रति गम्भीर बन्न चाहन्छौ । त्यसैले यो बेलामा अहस्य पीडा भएर म सरकार खोजिरहेका छु । सरकारलाई साथ दिनका लागि हामी सरकार खोजिरहेका छौं ।’

ADVERTISEMENT

कांग्रेस उपसभापति शर्माले जनतामा विश्वास जगाउने गरी सरकार उभिनुपर्ने बताए । ‘प्रधानमन्त्रीज्यू तपाई प्रधानमन्त्री बन्नुपूर्वको कोमल हृदय जुन थियो नि जसले गुनगुनाएर झक्झक्याउने प्रयास गरेको थियो कि गरिबको चमेली बोल्दिने कोही छैन । आज प्रधानमन्त्रीजीले भन्दिनुपर्यो कि गरिबको चमेली बोल्दिने कोही छ । आशा जगाउनुपर्‍याे । विश्वास जगाउनुपर्‍‍‍याे । होल्डिङ सेन्टरमा एक छाक पनि नखाई कोही भोकै रहनुभएन । इन्द्रबहादुर राईले जस्तै गरेर कसै सुकुम्बासीले जीवन त्याग्नुभएन । एक अर्को गणेश नेपाली फेरि अर्को प्रेम आचार्य फेरि देशमा पैदा हुनुभएन । हामी सरकारको साथमा उभिएर साथ दिन चाहन्छौ । हात लम्काउन चाहन्छौ । अघि लाग्नुस् । विषयको गम्भीरतालाई बुझ्नुस् ।

कारुणिकतालाई सम्बोधन गर्नुस् । देश तपाईको साथमा उभिने छ । यो समाजमा आशा जगाउनुपर्छ । सरकार सिंहदरबार, संसद, सुकुम्बासी र निराश भएको युवा अगाडि भेटियोस् र भनोस् सरकार छ निराश हुनुपर्दैन,’ उनले भने ।

बालेन सरकारका पछिल्ला केही निर्णय र कदमले नेपाली जनतामा चरम निराशा उत्पन्न गरेको छ । बालेन सरकार आक्रामकबाट रक्षात्मक बनेको अवस्थामा प्रमुख प्रतिपक्षी कांग्रेसका उपसभापति शर्माले यस्तो भिडियो सार्वजनिक गरेका हुन् ।