काठमाडौं । नबिल बैंकले स्थापनाको ४२औं वार्षिकोत्सव मनाउँदै गर्दा देशको वास्तविक अर्थतन्त्रलाई बलियो बनाउन आफ्नो लगानी केन्द्रित गरेको छ ।
‘बैंकिङ एण्ड बियोन्ड’ को मूल नाराका साथ अघि बढेको बैंकले परम्परागत बैंकिङभन्दा माथि उठेर मुलुकको दिगो विकासमा टेवा पुग्ने क्षेत्रहरूमा आक्रामक रूपमा कर्जा विस्तार गरिरहेको छ ।
आर्थिक वर्ष २०८२–८३ को तेस्रो त्रैमाससम्मको तथ्यांकअनुसार, बैंकले प्रवाह गरेको कुल चार खर्ब ६४ अर्ब रुपैयाँ कर्जामध्ये ठूलो हिस्सा कृषि, ऊर्जा, र साना तथा मझौला उद्यममा रहेको छ ।
बैंकले मुलुकको खाद्यान्न आत्मनिर्भरता र ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने कृषि क्षेत्रमा ५३ अर्ब ३१ करोड रुपैयाँ लगानी गरेको छ । नबिलले जलविद्युत र ऊर्जा क्षेत्रमा ५१ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको छ ।

तल्लो तहमा रोजगारी सिर्जना र उद्यमशीलता विकास गर्न बैंकले लघु, घरेलु, साना तथा मझौला उद्यम क्षेत्रमा ४५ अर्ब ९२ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । साथै, विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत मानिने पर्यटन क्षेत्रमा पनि बैंकले ११ अर्ब १० करोड रुपैयाँ लगानी गरी पर्यटन पूर्वाधार विकासमा सहयोग पुर्याएको छ ।
यी क्षेत्रहरूमा गरिएको कुल लगानी १ खर्ब ६१ अर्ब रुपैयाँभन्दा बढी छ, जसले बैंकको कुल कर्जा पोर्टफोलियोको उल्लेखनीय हिस्सा ओगट्छ । ४२ वर्षअघि सन् १९८४ मा स्थापना हुँदा केवल १३ करोड ३० लाख रुपैयाँ मात्र कर्जा लगानी गरेको बैंकले अहिले ४ खर्ब ६४ अर्बको उचाइ तय गर्नुमा उत्पादनशील क्षेत्रप्रतिको विश्वास नै मुख्य कारण रहेको बैंकले जनाएको छ ।
२६४ शाखा र ३१५ एटीएमको राष्ट्रव्यापी सञ्जालमार्फत २६ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको नबिलले डिजिटल प्लेटफर्म मार्फत पनि यस्ता कर्जा सुविधाहरूलाई ग्राहकको सहज पहुँचमा पुर्याएको छ ।





