काठमाडौं । कुशेऔँसी अर्थात् बुबाको मुख हेर्ने दिनको अवसरमा नबिल बैंकले बुबा र सन्तानबीचको भावनात्मक सम्बन्धलाई प्रस्तुत गर्दै एक हृदयस्पर्शी भिडियो सार्वजनिक गरेको छ।
भिडियोमा अटिजम भएका एक बालक र उनका बुबाबीचको सम्बन्धलाई कथामार्फत देखाइएको छ। सामान्य रूपमा आफ्ना भावना व्यक्त गर्न नसक्ने बालकलाई समाजले बुझ्न कठिन भइरहेका बेला उनका बुबाले भने छोराको व्यवहारलाई समस्या वा जिद्दीका रूपमा नलिई उसको संसार बुझ्ने प्रयास गर्छन्।
छोरासँग घुलमिल हुन बुबा आफैँ सिक्छन्। उनी छोरासँग खेल्छन्, उसको असहजता बुझ्ने प्रयास गर्छन् र दैनिक जीवनका साना–साना आवश्यकतामा साथ दिन्छन्। यसरी भिडियोले सन्तानलाई आफ्नो संसारमा ल्याउन खोज्नुभन्दा उनीहरूकै संसार बुझ्न अभिभावक अघि बढ्नुपर्ने सन्देश दिएको छ।
भिडियोको भावनात्मक पक्ष त्यतिबेला थप गहिरिन्छ, जब बालकले आफ्नै तरिकाले बनाएको चित्र बुबालाई दिन्छ। त्यो क्षणलाई बुबाका लागि वर्षौँदेखिको प्रतीक्षाको सुन्दर जवाफका रूपमा प्रस्तुत गरिएको छ।
नबिल बैंकले भिडियोमार्फत बुबालाई केवल पारिवारिक सम्बन्ध नभई जीवनभरको भरोसा, साथ र सुरक्षाका रूपमा चित्रण गरेको छ। बैंकले सन्तानका सपना आफ्नै सपना बनाउने र उनीहरू कठिनाइमा पर्दा हात समाउने सबै बुबाप्रति सम्मान व्यक्त गरेको जनाएको छ।
भिडियोले अटिजम भएका बालबालिकालाई बदल्नुभन्दा उनीहरूको व्यवहार र भावना बुझ्न आवश्यक रहेको सन्देशसमेत दिएको छ। अटिजम भएका व्यक्तिप्रति समाजको बुझाइ र स्वीकार्यता बढाउनुपर्ने विषयलाई समेत भिडियोले भावनात्मक रूपमा उठाएको छ।






