काठमाडौं। नबिल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको ६९९औँ बैठकले बैंक सञ्चालक समितिको अध्यक्षमा सञ्चालक निर्वाण कुमार चौधरीलाई चयन गर्ने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकबाट सपथ ग्रहण पश्चात् उनले अध्यक्षको कार्यभार सम्हाल्ने बैंकले जनाएको छ।साथै साधारणसभाले संस्थापक शेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्ने एक सञ्चालक पदमा अनिल केशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ ।

यसै अवसरमा बैंकले निवर्तमान अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले आफ्नो दुई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेको जानकारी दिएको छ। पौडेलको नेतृत्वमा नबिल बैंकले दिगो बैंकिङतर्फ उल्लेखनीय उपलब्धि हासिल गरेको बैंकको भनाइ छ। उनको कार्यकालमा टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ अभ्यास, नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) को स्थापना तथा मर्जर प्रक्रिया सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिएको थियो।

चालु आर्थिक वर्ष २०८२/८३ मा बैंकले रु ५ अर्ब बराबरको ‘नबिल ८% अविमोच्य असञ्चिति अग्राधिकार शेयर’ (प्रतिकित्ता अंकित मूल्य रु १०० का दरले ५ करोड कित्ता) नयाँ पुँजी उपकरण जारी गरेको छ। उक्त उपकरण जारीपछि अतिरिक्त प्राथमिक पुँजीमार्फत बैंकको पुँजीगत आधार सुदृढ भई जोखिम वहन गर्ने क्षमता बढ्ने र व्यवसाय विस्तारमा थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

हाल नबिल बैंकले देशभर २६८ शाखा सञ्जाल र ३२१ एटिएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ। चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको नबिल बैंकले पछिल्लो समय दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि ‘एनबैंक’ सञ्चालनमा ल्याएको छ।

साधारणसभा समयमै सम्पन्न गर्न सहयोग गर्ने शेयरधनी, नियामक निकाय, ग्राहक वर्ग, बैंकका कर्मचारी तथा अन्य सम्बद्ध निकायहरूप्रति नबिल बैंकले आभार व्यक्त गरेको छ।