काठमाडौं । नबिल बैंकका चिफ बिजनेस अफिसर निरज शर्मा ईसेवाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त भएका छन्।
शर्माले नबिल बैंकमा ट्रान्जेक्सन बैंकिङ, डिजिटल बैंकिङ, रिटेल ट्रान्जेक्सन बैंकिङ, मार्केटिङ, सञ्चालन तथा जोखिम व्यवस्थापन लगायतका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। उनले सन् २०२६ मेदेखि चिफ बिजनेस अफिसर–ट्रान्जेक्सन बैंकिङ तथा एनबैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए। त्यसअघि उनी नबिल बैंकका चिफ मार्केटिङ अफिसर, चिफ–रिटेल ट्रान्जेक्सन बैंकिङ, चिफ–पोलिसी फ्रेमवर्क तथा चिफ अपरेटिङ अफिसरका रूपमा कार्यरत थिए।
शर्मासँग भुक्तानी प्रणाली र कार्डसम्बन्धी सञ्चालनको समेत लामो अनुभव छ। उनले सन् २००८ देखि २०२२ सम्म नबिल बैंकको कार्ड अपरेसनमा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए, जहाँ अपरेशनल रिस्क म्यानेजमेन्ट तथा फ्रड इन्भेस्टिगेसनलगायतका क्षेत्रमा काम गरेका थिए।
त्यस्तै, शर्मा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (NEPS) को सञ्चालक समितिका सदस्यसमेत भइसकेका छन्। बैंकिङ, डिजिटल वित्तीय सेवा तथा भुक्तानी प्रणालीसम्बन्धी उनको अनुभवले ईसेवाको आगामी डिजिटल तथा भुक्तानी व्यवसाय रणनीतिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
ईसेवाको नेतृत्वमा शर्माको आगमनसँगै बैंकिङ क्षेत्रबाट फिनटेक क्षेत्रमा उनको अनुभव र विशेषज्ञता प्रयोग हुने भएको छ।









