काठमाडौं — नेपाली कांग्रेसका नेता मोहन बस्नेतले आत्मदाहपछि निधन भएका मुगुका गणेश नेपालीकी छोरीलाई स्नातक तहसम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने घोषणा गरेका छन्।
कर्णाली प्रदेशको सुर्खेत रंगशालामा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै बस्नेतले गणेश नेपालीको परिवारलाई तत्काल एक लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने प्रतिबद्धता पनि जनाए।
‘जसको मृत्यु भएको छ, उहाँको परिवारलाई घरव्यवहार मिलाउन र आवश्यक खर्चका लागि एक लाख रुपैयाँ तत्काल व्यवस्था गरिदिन्छु,’ उनले भने। साथै, गणेशकी छोरीको दीर्घकालीन शिक्षाको जिम्मेवारी लिँदै स्नातक तहसम्म निःशुल्क पढाइको व्यवस्था गर्न आफूले पहल गर्ने घोषणा गरे।
बस्नेतले काठमाडौं महानगरपालिकाले अहिले सहयोग गरे पनि भविष्यमा त्यसको निरन्तरता रहने वा नरहने निश्चित नभएकाले बालिकाको शैक्षिक भविष्य सुरक्षित गर्न आफूले पहल गर्ने बताए।
गणेश नेपालीको शुक्रबार उपचारका क्रममा निधन भएको थियो। उनले बिहीबार काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग नजिक आत्मदाहको प्रयास गरेका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो।
कार्यक्रममा बस्नेतले तीन वर्षअघि संसद् भवनअगाडि आत्मदाह गरेका प्रेम आचार्यका दुई सन्तानको निःशुल्क अध्ययनको व्यवस्था पनि आफूले मिलाएको स्मरण गराउँदै यस्ता पीडित परिवारको साथमा रहने प्रतिबद्धता व्यक्त गरे।





