काठमाडौँ । राहदानी विभाग अगाडि आत्मदाह गरेका गणेश नेपालीको घटनामा सोधपुछका लागि बोलाइएका सबै जनालाई प्रहरीले रिहा गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा एसपी पवनकुमार भट्टराईका अनुसार घटनासम्बन्धी जानकारी लिन महानगर प्रहरीका कर्मचारी र प्रत्यक्षदर्शीलाई सोधपुछका लागि बोलाइएको थियो। आवश्यक बयान र घटना विवरण लिएपछि उनीहरूलाई शुक्रबार नै छाडिएको उनले बताए।
त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा महानगर प्रहरीले ह्वीललक लगाएको विषयमा विवाद भएपछि गणेश नेपालीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारका क्रममा भोलिपल्ट वीर अस्पतालमा मृत्यु भएको थियो।
घटनापछि प्रहरीले सम्बन्धित महानगर प्रहरीका कर्मचारी र प्रत्यक्षदर्शीसँग सोधपुछ गरी घटनाको विवरण संकलन गरेको जनाएको छ।
यस घटनाको छानबिनका लागि काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिले घटनाको वास्तविक कारण र संलग्न पक्षबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।





