काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले गणेश नेपालीको आत्मदाहपछि उपचारका क्रममा भएको निधनलाई राजनीतिक बहस वा दोषारोपणको विषय नबनाउन आग्रह गरेका छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै थापाले गणेश नेपालीको घटनाले सम्पूर्ण नेपालीलाई स्तब्ध बनाएको उल्लेख गर्दै यसलाई समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षणका रूपमा चित्रण गरेका छन्।
उनले भने, ‘यो घटना समाज, राज्य र हाम्रो सामूहिक चेतनालाई झस्काउने अत्यन्तै पीडादायी क्षण हो। यससँगै सबैमा एउटा विनम्र अनुरोध छ। यो कुनै राजनीतिक बहस वा दोषारोपणको विषय होइन। यो एउटा नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय हो।’
थापाले अहिलेको अवस्थामा गणेश नेपालीको परिवारलाई साथ दिने र उनीहरूको पीडामा केही भए पनि मल्हम लगाउन सकिने उपायबारे सबैले सोच्नुपर्ने बताएका छन्।
उनले भने, ‘कठिन घडीमा गणेश आश्रित परिवारलाई कसरी साथ दिन सकिन्छ भन्नेमा केन्द्रित बनौँ। उनीहरूको दुःखमा केही भए पनि मल्हम लगाउन सकिन्छ भन्नेबारे आ–आफ्नो ठाउँबाट सोचौँ र सक्दो सहयोग गरौँ। विगत र वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको हाम्रो सामूहिक आत्मचिन्तनको विषय बनाऔँ।’
थापाले यस्ता घटना दोहोरिन नदिन समाज र राज्य दुवैले गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। उनले नागरिक किन निराशाको अन्तिम बिन्दुसम्म पुग्छन् भन्ने प्रश्न उठाउँदै राज्यका सेवा र संयन्त्रले नागरिकमा भरोसा जगाउन सकेको छ कि छैन भन्ने विषयमा आत्ममूल्यांकन गर्नुपर्ने बताएका छन्।
उनले प्रश्न गरेका छन्, ‘एउटा युवा किन यस्तो निराशाको बिन्दुसम्म पुग्छ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन्? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ?’
थापाले यी प्रश्नहरूको इमानदार उत्तर खोज्दै भविष्यमा कुनै पनि नागरिकले यस्तो बाटो रोज्न नपर्ने वातावरण निर्माण गर्नु नै गणेश नेपालीप्रतिको साँचो श्रद्धाञ्जली हुने बताएका छन्।









