काठमाडौं । नेपालको अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक फोनपेले अनलाइन किनमेललाई अझ छिटो, सहज र झन्झटरहित बनाउने उद्देश्यसहित ‘चेकआउट बाई फोनपे’ नामक नयाँ डिजिटल भुक्तानी समाधान सार्वजनिक गरेको छ।

नयाँ सेवाको पहिलो मर्चेन्टका रूपमा फास्टो (Fasto) मा यो सुविधा सञ्चालनमा आएको कम्पनीले जनाएको छ। मोबाइल एप तथा वेबसाइटमार्फत किनमेल गर्ने ग्राहकलाई लक्षित गरी ल्याइएको यो सेवाले चेकआउट प्रक्रियालाई सहज बनाउने विश्वास फोनपेको छ।

ADVERTISEMENT

कम्पनीका अनुसार परम्परागत अनलाइन भुक्तानी प्रणालीमा ग्राहकले एउटा एपबाट अर्को एपमा जानुपर्ने, बारम्बार लगइन गर्नुपर्ने, ओटीपी प्रमाणीकरण गर्नुपर्ने तथा पुनः व्यापारीको वेबसाइट वा एपमा फर्किनुपर्ने जस्ता झन्झट हटाएर एउटै चेकआउट प्रक्रियामै सुरक्षित रूपमा भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ।

ADVERTISEMENT

फोनपेका अनुसार विश्वभर करिब ७० प्रतिशत अनलाइन किनमेलका कार्टहरू अन्तिम भुक्तानी नगरी नै छाडिने गरेका छन्, जसको प्रमुख कारणमध्ये जटिल चेकआउट प्रक्रिया पनि एक हो। ‘चेकआउट बाई फोनपे’ ले यस्ता अवरोध हटाउँदै व्यापारीको सफल कारोबार दर (Conversion Rate) बढाउनुका साथै ग्राहकलाई सहज किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ।

हाल यो सेवा कृषि विकास बैंक, सिटिजन्स बैंक इन्टरनेसनल, गरिमा विकास बैंक, कुमारी विकास बैंक, लक्ष्मी सनराइज बैंक, मञ्जुश्री फाइनान्स, मुक्तिनाथ विकास बैंक, नबिल बैंक, प्रभु बैंक, राष्ट्रिय वाणिज्य बैंक (आरबीबी) र सानिमा बैंक सहित ११ वटा वित्तीय संस्थाका मोबाइल बैंकिङ एपमार्फत उपलब्ध रहेको छ। कम्पनीले आगामी महिनाहरूमा थप बैंक, वित्तीय संस्था तथा इ–कमर्स प्लेटफर्मलाई पनि यस सेवामा आबद्ध गर्ने जनाएको छ।

फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले इ–कमर्स विस्तारसँगै भुक्तानी प्रक्रिया पनि किनमेल अनुभवजत्तिकै सहज हुनुपर्ने आवश्यकता महसुस गर्दै ‘चेकआउट बाई फोनपे’ विकास गरिएको बताए। उनका अनुसार यस सेवाले ग्राहकलाई छिटो र सहज भुक्तानी अनुभव प्रदान गर्नुका साथै व्यापारीलाई पनि उत्कृष्ट चेकआउट सुविधा उपलब्ध गराउनेछ।

पहिलो मर्चेन्टका रूपमा आबद्ध भएको फास्टोमा अब ग्राहकहरूले अर्डर गर्ने क्रममा ‘चेकआउट बाई फोनपे’  प्रयोग गरेर एप परिवर्तन नगरी सिधै भुक्तानी गर्न सक्नेछन्। यसले अर्डर प्रक्रिया अझ छिटो, सहज र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

नयाँ सेवाको सुरुवातको अवसरमा फोनपेले फास्टोसँगको सहकार्यमा ‘What the FAST! – Fatafat Order. Fatafat Checkout.’ अभियान पनि सञ्चालन गरेको छ। जुलाई ७ देखि जुलाई १३, २०२६ सम्म चल्ने यस अभियानअन्तर्गत फास्टोमार्फत अर्डर गरी‘चेकआउट बाई फोनपे’ प्रयोग गरेर भुक्तानी गर्ने ग्राहकले २० प्रतिशत क्यासब्याक (अधिकतम एक हजार रुपैयाँसम्म) प्राप्त गर्न सक्नेछन्।

फोनपेले ‘चेकआउट बाई फोनपे’ नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुरक्षित, नवीन र ग्राहकमैत्री बनाउने दिशामा महत्वपूर्ण उपलब्धि भएको जनाएको छ। कम्पनीका अनुसार आगामी दिनमा यो सेवा थप बैंक, व्यापारी तथा डिजिटल प्लेटफर्ममा विस्तार गरिनेछ, जसबाट अझ धेरै नेपाली उपभोक्ताले सरल, सुरक्षित र छिटो अनलाइन भुक्तानी अनुभव लिन सक्नेछन्।