काठमाडौं । म्याग्दीको धौलागिरि गाउँपालिका–७ फेदीखोलामा आइतबार दुई वटा बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी प्रहरी निरीक्षक सागर तिमिल्सिनाका अनुसार ताकमबाट दरबाङतर्फ आउँदै गरेको बि ए ए ७७९५ नम्बरको बोलेरो जिप घुम्तीमा अनियन्त्रित भई पल्टिएर विपरीत दिशाबाट आइरहेको ग ३ च ३३१४ नम्बरको बोलेरो जिपमाथि खसेपछि दुर्घटना भएको हो।
दुर्घटनामा ग ३ च ३३१४ नम्बरको बोलेरोका चालक पर्वत जलजला गाउँपालिका–८ का अनिल नेपाली र बि ए ए ७७९५ नम्बरको बोलेरोका चालक धौलागिरि गाउँपालिका–३ मुनाका २७ वर्षीय ध्रुव पुन घाइते भएका छन्।
यस्तै, धौलागिरि गाउँपालिका–७ की १७ वर्षीया रबिना सिर्पाली, ७४ वर्षीय सुनबिर रसाइली, ७८ वर्षीया ख्याउटी रसाइली, ४० वर्षीया धना कुमारी सुनार, ६३ वर्षीय दलबहादुर सुनार, २६ वर्षीया कल्पना सुनार तथा रोल्पाको थवाङ गाउँपालिका–५ का ५२ वर्षीय भीमसेन पुन पनि घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न दुवै सवारीसाधनमा १० जना सवार रहेकामा एक जना सकुशल रहेका छन्। घाइते सबैको मालिका गाउँपालिका–६ स्थित दरबाङ आधारभूत अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।












