काठमाडौँ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। यसको प्रभावले देशका हिमाली तथा पहाडी भूभागमा मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो हिमाली भूभागका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी तथा तराई क्षेत्रमा भने आंशिक बादल लाग्ने पूर्वानुमान छ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। त्यस्तै, गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
आज राति पनि देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने कोशी प्रदेशसहित अन्य पहाडी क्षेत्रमा आंशिक बादल रहनेछ। हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ।
महाशाखाका अनुसार सोमबार कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ। सोमबार पनि कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।












