काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय चौथोपटक थप्दै अब साउन ३ गतेसम्म कायम गरेको छ। वैशाख १ गतेदेखि सुरु भएको सदस्यता अद्यावधिक अभियान यसअघि पटक–पटक म्याद थपिएपछि पुनः विस्तार गरिएको हो।
कांग्रेसले पहिलोपटक जेठ २१ गतेसम्म समय थपेको थियो। त्यसपछि जेठ २८ हुँदै असार २० गतेसम्म म्याद बढाइएको थियो। अब पुनः समय थपेर साउन ३ गतेसम्म पुर्याइएको हो।
कांग्रेसका महामन्त्री तथा सदस्यता व्यवस्थापन केन्द्रीय समितिका संयोजक प्रदीप पौडेलले अझै छुटेका सदस्यलाई अवसर दिन समय थपिएको बताए। उनका अनुसार अहिले सदस्यता अद्यावधिकको प्रक्रिया पहिलेभन्दा फरक छ। अब वडा सभापतिले प्रणालीमार्फत नवीकरण गरिदिने व्यवस्था नभई सम्बन्धित सदस्य स्वयंले निवेदन दिएपछि मात्रै अद्यावधिक हुने व्यवस्था लागू गरिएको छ।
महामन्त्री पौडेलका अनुसार हालसम्म ५ लाख ५७ हजार सदस्यको अद्यावधिक भइसकेको छ भने १ लाख ४९ हजार सदस्यको विवरण प्रणालीमा होल्ड अवस्थामा रहेको छ। समग्रमा साढे ६ लाखभन्दा बढी सदस्यता अद्यावधिक भएको अनुमान गरिएको छ। अझै करिब ६० हजार सदस्यले नवीकरण गर्न बाँकी रहेको उनले बताए।
पौडेलले केही वरिष्ठ नेताले सदस्यता नवीकरण नगरेकाले उनीहरूका समर्थक पनि पर्खाइमा रहेको उल्लेख गरे। उनका अनुसार करिब २०–२५ हजार सदस्यले अग्रज नेताको निर्णय कुरेर बसेका छन्।
यता, सदस्यता नवीकरण र महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्र संस्थापन र इतर पक्षबीचको विवाद अझै समाधान हुन सकेको छैन। इतर पक्षका नेताहरूले पछिल्ला दिनमा छलफललाई तीव्र बनाएका छन्।
हालै डा. शेखर कोइराला र पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको थियो भने त्यसपछि विमलेन्द्र निधि, प्रकाशमान सिंह र डा. शशांक कोइरालाबीच पनि छलफल भएको थियो। सोमबार पनि इतर पक्षका नेताहरू आन्तरिक छलफलमा जुटेका छन्।
इतर पक्षले विशेष महाधिवेशन र १४औँ महाधिवेशनबाट बनेका कार्यसमितिलाई गाभेर नयाँ कार्यसमिति गठन गर्नुपर्ने, क्रियाशील सदस्यता छानबिन समिति, निर्वाचन समिति, अनुशासन समिति, विधान परिमार्जन समिति तथा भ्रातृ संगठनहरू सहमतिका आधारमा गठन गर्नुपर्ने माग अघि सारेको छ। तर संस्थापन पक्षले विधानअनुसार त्यस्तो व्यवस्था सम्भव नभएको अडान दोहोर्याएको छ।
महामन्त्री पौडेलले दुवै पक्षबीच संवाद जारी रहे पनि अहिलेसम्म कुनै ठोस सहमति हुन नसकेको बताए। उनका अनुसार विवाद समाधानका लागि चरणबद्ध छलफल भइरहेको भए पनि निष्कर्षमा पुग्न अझै समय लाग्ने देखिएको छ।








