काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना र त्यसपछि तराई–मधेसका विभिन्न जिल्लामा विकसित अवस्थालाई लिएर सरकारको कडा आलोचना गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

शुक्रबार राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद कर्णले सरकारको गैरजिम्मेवारीका कारण देश गम्भीर संकटतर्फ धकेलिएको आरोप लगाए। उनले हिंसात्मक घटनापछि आफ्नो गृह जिल्ला सिरहाको अवस्था अत्यन्तै संवेदनशील बनेको बताए।

ADVERTISEMENT

‘घर सम्झिन्छु, चारैतिर रगत बगिरहेको छ। काकालाई फोन गर्दा घरबाट निस्कने अवस्था छैन भन्नुहुन्छ, गोली चलिरहेको छ। भर्खरै गणेश भाइको मृत्यु भएको खबर आएको छ, दर्जनौँ घाइते छन्,’ उनले भने, ‘यस्तो पीडामा प्राविधिक विषयमा बोल्ने मेरो इच्छा छैन।’

ADVERTISEMENT

सांसद कर्णले देवानगञ्जमा तनाव बढ्ने विषयमा सरकारलाई एक महिनाअघिदेखि नै जानकारी हुँदाहुँदै पनि गृह मन्त्रालय र जिल्ला प्रशासनले आवश्यक पहल नगरेको आरोप लगाए। उनका अनुसार सरकारले समयमै संवाद र समन्वय गरेको भए हिंसात्मक अवस्था सिर्जना हुने थिएन।

उनले प्रधानमन्त्रीले जनतासँग संवाद गर्न नसकेको र गृहमन्त्रीले गम्भीर समस्याभन्दा लोकप्रियतामुखी गतिविधिमा ध्यान दिएको आरोप पनि लगाए। ‘दमनबाट समस्याको समाधान हुँदैन, संवाद र बैठकबाट समाधान खोज्नुपर्थ्यो,’ उनले भने।

कर्णले विगतमा राज्यको गोलीबाट नागरिकको मृत्यु हुँदा प्रधानमन्त्री र गृहमन्त्रीले नैतिक जिम्मेवारी लिनुपर्ने नजिर स्थापित भएको उल्लेख गर्दै वर्तमान प्रधानमन्त्री र गृहमन्त्रीले पनि तत्काल राजीनामा दिनुपर्ने माग गरे।

सरकारले गठन गर्ने छानबिन समितिप्रति विश्वास नरहेको बताउँदै उनले घटनाको निष्पक्ष अनुसन्धानका लागि अधिकारसम्पन्न न्यायिक समिति गठन गर्नुपर्ने माग गरे। साथै सर्वदलीय बैठक र नागरिक समाजसँगको समन्वयमार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।

यसअघि बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरिएको थियो।