काठमाडौं । सरकारले डा. विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पौडेललाई मुलुकको केन्द्रीय बैंकको बागडोर सुम्पेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पौडेल गभर्नरमा नियुक्त भएको जानकारी दिए । यसअघि अर्थमन्त्री विष्णुप्रसाद पौडेल नेतृत्वको सिफारिस समितिले पौडेलसँगै राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो । सिफारिस समितिले दिएको नामबाटै पौडेललाई गभर्नर नियुक्त गरिएको हो ।

राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका पौडेल नीतिगत र प्राज्ञिक क्षेत्रका अनुभवी व्यक्तित्व हुन् । पौडेलले क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीबाट कृषि तथा स्रोत अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी प्राकृतिक स्रोत अर्थशास्त्र, श्रम अर्थशास्त्र, र आर्थिक इतिहासमा विशेषज्ञता राख्छन् ।

पौडेल काठमाडौं विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा प्राध्यापन गरिरहेका छन् । उनीसँग राष्ट्रिय योजना आयोगका उपाध्यक्षसँगै अर्थ मन्त्रालयको वरिष्ठ आर्थिक सल्लाहकार र इसिमोडको बोर्ड अफ गभर्नर्सको अध्यक्षको अनुभव पनि छ ।

लामो रस्साकस्सीपछि राष्ट्र बैंककले गभर्नर पाएको हो । गभर्नर नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबिच विवाद रहँदै आएको थियो । कांग्रेसले गभर्नर नपाए सरकार ढाल्ने चेतावनी दिएपछि ओली गलेका हुन् ।