हेटौडा । हेटौंडाको पदमपोखरी–१३ को एक शान्त साँझ, फेन्चु लामा आफ्ना ड्रागन फ्रुटका बोटहरु नियालिरहेका छन् । कहिले बिरुवाहरुको सूक्ष्म निरीक्षण गरिरहेका छन् भने कहिले सहयोगी कामदारहरूलाई केही निर्देशन दिइरहेका छन्। उनमा एउटा दृढ आत्मविश्वास देखिन्छ, अनुभवले मात्र होइन, आफ्नै संकल्पले संगालिएको आत्मविश्वास ।

केही वर्षअघि उनी कक्षाकोठामा विद्यार्थीहरुसंग रमाइरहेका थिए। आज भने उनी खेतमा आफ्नो अनुभव बटुलिरहेका छ्न् । ‘सात वर्ष भयो,’ लामा भन्छन्, ‘यसअघि म सर्भिस सेक्टरमा थिएँ, एक गणित शिक्षकको रुपमा । अहिले म किसान हुँ।’

ADVERTISEMENT

ADVERTISEMENT

लामाको शिक्षकबाट कृषि उद्यमी बन्ने यात्रा अचानक भएको भने होइन। यो अनुभव र अवलोकनबाट आएको हो । त्यसको केन्द्रमा थियो पदमपोखरी चोकमा रहेको उनका बुवाको एग्रोभेट पसल, जहाँ किसानहरू सधैं समस्या र समाधान खोज्दै आउने गर्थे ।

‘म त्यहाँ बस्दा किसानका कुरा सुन्थें,’ उनले भने, ‘त्यसपछि लाग्न थाल्यो, हामीले उत्पादनतर्फ जानुपर्छ । नेपाल आयातमा निर्भर छ । आयातित बस्तुहरुको मात्रै उपभोग गरेर, उत्पादनमा नलाग्ने हो भने कसरी परिवर्तन आउँछ ।’ त्यो प्रश्नले उनलाई छोडेन । लामो समय सेवा क्षेत्रमा बिताएपछि उनलाई उत्पादनमा केही गर्ने चाहना बढ्दै गयो । उनी सिर्जनाका अवसरहरु खोजिरहेका थिए। त्यही समयमा उनले कृषि क्षेत्रमा नयाँ अवसरहरू पनि देखे, ड्रागन फ्रुटको उच्च मूल्य, बोयर बाख्राको उन्नत जात, र सयपत्री फूलको बढ्दो माग । त्यही सोचले एम एन एस एग्रो प्रा.लिको जन्म भयो ।

करिब डेढ बिघा जमिनमा फैलिएको यस फार्ममा अहिले ड्रागन फ्रुट, मेवा, खरबुजा, सयपत्री फूलको उत्पादन गरिन्छ भने बाख्रा पालन पनि गरिन्छ । एउटा सानो प्रयासबाट सुरु भएको काम अहिले व्यवस्थित कृषि उद्यम बनेको छ । करिब ४ करोडको लगानीमा रहेको यस फार्मको मुख्य आम्दानीको स्रोत भने ड्रागन फ्रुट रहेको छ ।

तर लामाको खेती केवल बाली उत्पादनमा मात्रै सीमित छैन, यो प्रयोग र प्रणाली निर्माणको प्रयास पनि हो ।

ड्रागन फ्रुट खेतीमा उनले नवीन तरिका अपनाएका छन्। अफसिजनमा पनि उत्पादन बढाउन कृत्रिम बत्ती प्रयोग गरिएको छ। बत्ती सेन्सर मार्फत आफैं बल्ने( निभ्ने व्यवस्था गरिएको छ । साथै, उनले परम्परागत पोल प्रणालीबाट ट्रेलिस प्रणालीतर्फ विस्तारै ड्रागन फ्रुट खेतीलाई रुपान्तरण गरिरहेका छन्, जसले उत्पादन र व्यवस्थापन दुबैमा सुधार ल्याउँछ ।

यद्यपि, यो यात्रा सहज भने थिएन। ड्रागन फ्रुटजस्तो बालीमा व्यावसायिक उत्पादन आउन समय लाग्छ, कम्तीमा पाँच वर्ष । प्राकृतिक जोखिम पनि छन् । फल पाक्ने बेला चराले करिब १० प्रतिशतसम्म क्षति पुर्‍याउँछ । केही गम्भीर ढुसीजन्य रोग पनि लाग्ने गर्छ । बिरुवा पहेँलो देखिने र यसले बोटको वृद्धि रोकेर फलको उत्पादनमा ह्रास आउने गर्दछ । ‘हामी व्यवस्थापन गर्दैछौं, बर्ड नेट र ब्यागिङको इन्स्टलेसनको काम हुँदैछ,’ उनले भने ।

यो फार्म परिवारमै आधारित छ । उनका बुबा प्राविधिक अनुभवसहित संलग्न छन्, उनकी श्रीमतीले कृषि विषय पढेकी छन्, र लामा आफैंले पनि स्नातकोत्तर पछि जेटिए पढेर कृषि तालिम समेत लिएका छन् । यसबाहेक चार जना स्थायी कामदारहरु छन्, र सिजनमा थप कामदार पनि राखिन्छ । ‘यो मेरो एक्लैको प्रयास भने होइन,’ उनी भन्छन्, ‘अरूलाई पनि सिकाएर काम गर्न सक्ने बनाएका छौं ।’

उनको कामले पहिचान पनि पाएको छ, स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय स्तरसम्मका सम्मानहरू प्राप्त गर्न सफल भएका छन् । हरेक प्रोत्साहन उनका लागि नयाँ सुरुवातको खुड्किलो बनेको छ । आगामी दिनमा उनी उत्पादनभन्दा अघि बढेर प्रशोधनतर्फ जान चाहन्छन् । ‘ड्रागन फ्रुटबाट जुस, क्यान्डी, वाइन बनाउन सकिन्छ,’ उनी भन्छन्, ‘केही पनि खेर जानु हुँदैन ।’

तर उनी प्रणालीगत समस्याहरू पनि स्पष्ट देख्छन् । मल, गुणस्तरीय बीउ, बीमा, र स्थिर बजार अझै चुनौतीका रूपमा छन् । किसानलाई सहयोग गर्ने नीति, न्यूनतम समर्थन मूल्य, र डिजिटल बजार आवश्यक रहेको उनी बताउँछन् । लामा केवल व्यक्तिगत परिवर्तनको उदाहरण मात्र बन्न चाहदैनन् । उनी नेपाली माटोले बकेको कृषिप्रधान मुलुकको अर्थ सबै युवाहरुले प्रत्याभूत गर्नुपर्नेमा जोड दिन्छन् ।

DCIM101MEDIADJI_0295.JPG