काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ ३२ को रोमाञ्चक खेलमा बेल्जियमले सेनेगललाई ३–२ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। दुई गोलको अग्रता बनाए पनि त्यसलाई जोगाउन नसक्दा सेनेगल विश्वकपबाट बाहिरिएको हो।

खेलको २४औँ मिनेटमा हबिब डियराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए। त्यसपछि ५४औँ मिनेटमा इस्माएला सारले अर्को गोल थपेपछि सेनेगल २–० ले अघि बढेको थियो।

ADVERTISEMENT

तर बेल्जियमले उत्कृष्ट पुनरागमन गर्‍यो। ८५औँ मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै अन्तर घटाए भने त्यसको एक मिनेटपछि यौरी टिएलम्यान्सले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए।

निर्धारित समय बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयको १२५औँ मिनेटमा सेनेगलका लेमिन केमेराले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि भीएआर परीक्षणपछि बेल्जियमले पेनाल्टी पायो। उक्त पेनाल्टीलाई यौरी टिएलम्यान्सले गोलमा परिणत गर्दै बेल्जियमलाई ३–२ को रोमाञ्चक जित दिलाए।

ADVERTISEMENT

यस जितसँगै बेल्जियमले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ भने सेनेगलको विश्वकप यात्रा राउन्ड अफ ३२ मै समाप्त भएको छ।