काठमाडौं। नेपाल राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँ बराबरको एकवर्षे ‘नेपाल राष्ट्र बैंक ऋणपत्र, २०८४ (ख)’ बोलकबोलमार्फत निष्कासन गर्ने भएको छ।

राष्ट्र बैंकले जारी गरेको सूचनाअनुसार ऋणपत्रको बोलकबोल आज दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। यस ऋणपत्रको ब्याजदर बोलकबोलबाट तय गरिनेछ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिनेछ। ऋणपत्रको साँवा २०८४ साल असार १७ गते फिर्ता गरिनेछ।

ADVERTISEMENT

बोलकबोलमा न्यूनतम ५ करोड रुपैयाँदेखि त्यसपछि ५ करोड रुपैयाँकै गुणकमा कुल आह्वान गरिएको रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ। यो ऋणपत्र नेपाल राष्ट्र बैंक तथा अन्य बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा पनि प्रयोग गर्न सकिनेछ।

राष्ट्र बैंकका अनुसार ‘क’, ‘ख’ र ‘ग’ वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्था मात्रै बोलकबोलमा सहभागी हुन पाउनेछन्। एउटै संस्थाले फरक–फरक ब्याजदरमा पनि बोलकबोल गर्न सक्नेछन् भने स्वीकृत ब्याजदर सबैभन्दा कम ब्याजदरबाट क्रमशः निर्धारण गरिनेछ।

ADVERTISEMENT

स्वीकृत भएको रकम निष्कासनकै दिन सम्बन्धित संस्थाको खाताबाट कट्टा गरिने राष्ट्र बैंकले जनाएको छ। खातामा पर्याप्त मौज्दात नभए स्वीकृत बोल रद्द हुने र सम्बन्धित संस्था छ महिनासम्म खुला बजार कारोबार तथा ब्याजदर करिडोरअन्तर्गत हुने बोलकबोलमा सहभागी हुन नपाउने व्यवस्था छ।

राष्ट्र बैंकका अनुसार यस ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गरिने छैन। तर, वैधानिक तरलता अनुपात (एसएलआर) र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न सकिनेछ। साथै, ऋणपत्र परिपक्व हुनुअघि साँवा फिर्ता नहुने र अन्य प्रक्रिया प्रचलित कानुनअनुसार हुने राष्ट्र बैंकले जनाएको छ।