काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले २० अर्ब रुपैयाँ बराबरको एक वर्ष अवधिको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ ‘घ’ जारी गर्ने भएको छ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार ऋणपत्रको बोलकबोल असार २२ गते दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ प्रणालीमार्फत हुनेछ। ऋणपत्रको निष्कासन पनि सोही दिन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण हुनेछ। ऋणपत्रको परिपक्व अवधि एक वर्ष रहनेछ र २०८४ असार २२ गते साँवा भुक्तानी गरिनेछ। ब्याज भने अर्धवार्षिक रूपमा उपलब्ध गराइनेछ।
यस ऋणपत्रको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्। न्यूनतम ५ करोड रुपैयाँदेखि बोल गर्न सकिनेछ भने कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकका अनुसार यो ऋणपत्र बैंक तथा वित्तीय संस्थामा धितोका रूपमा प्रयोग गर्न सकिनेछ। स्वीकृत बोल रकम सम्बन्धित संस्थाको लगानी पोर्टफोलियोमा रहनेछ भने परिपक्व अवधि पूरा हुनुअघि साँवा फिर्ता नहुने व्यवस्था गरिएको छ।
यस ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न नपाइने भए पनि वैधानिक तरलता अनुपात तथा खुद तरल सम्पत्ति अनुपात गणनामा भने समावेश गर्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ।






