काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार हुँदैछ। पदाधिकारी र केन्द्रीय सदस्यहरूको शपथ बुधबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा हुन लागेको हो।

चितवनको भरतपुरमा भएको पहिलो महाधिवेशनमा निर्वाचित ६ पदाधिकारी र ९९ केन्द्रीय सदस्यहरूको शपथ हुन लागेको हो।
शपथ ग्रहणलगत्तै नवनिर्वाचित केन्द्रीय समितिको बैठक बस्ने तयारी छ । बैठकपछि बाँकी पदाधिकारी र केन्द्रीय सदस्यहरूको मनोनयन प्रक्रिया सुरु हुनेछ, जसमा सभापतिले मनोनीत गर्ने नामहरू केन्द्रीय समितिमा पेस गर्ने व्यवस्था छ ।

ADVERTISEMENT

रास्वपाको विधानअनुसार कुल १५८ सदस्यीय केन्द्रीय समितिमध्ये ९९ जना निर्वाचित र बाँकी सदस्यहरू सभापतिद्वारा मनोनीत हुने प्रावधान छ ।

त्यस्तै, कुल १९ पदाधिकारीमध्ये सभापतिसहित सातजना निर्वाचित हुने र बाँकी पदमा सभापतिले नै मनोनयन गर्ने व्यवस्था गरिएको छ । चुनावअघि रास्वपामा समाहित भएका प्रधानमन्त्री बालेन शाहको समूह र विवेकशील साझाको समूहलाई समायोजन गर्नकै लागि विधान परिमार्जन गरी मनोनीत हुने पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाइएको थियो ।

ADVERTISEMENT

निर्वाचनका बेला पार्टीमा समायोजन भई आएका समूहलाई महाधिवेशनमा सिधै प्रतिस्पर्धा गर्दा जित्न कठिन हुनसक्ने आकलन गर्दै उनीहरूलाई पदाधिकारीमा मनोनीत गर्ने सहमति भएको थियो । सोही सहमतिबमोजिम महाधिवेशनको पूर्वसन्ध्यामा बालेन समूहलाई समेट्नका लागि वरिष्ठ नेता, उपसभापति, महामन्त्री र सहमहामन्त्रीलगायतका झन्डै १२ वटा नयाँ पदहरू सिर्जना गरिएका थिए ।