काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण तथा संगठित अपराध मुद्दाको अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध परेको रिट मंगलबार पनि हेर्दाहेर्दैमा राखिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश शारंगा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासमा सुनुवाइ भइरहेको उक्त मुद्दामा एक पक्षको बहस बाँकी रहेपछि हेर्दाहेर्दैमा राखिएको हो।वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले आफ्नो तर्फबाट जवाफी बहस गर्न बाँकी रहेको जानकारी दिँदै बिहीबारसम्ममा बहस सकिएपछि आदेश आउने सम्भावना रहेको बताएका छन्।उनका अनुसार बुधबार सार्वजनिक बिदा परेकाले बिहीबार पुनः इजलास बस्नेछ र सोही दिन अन्तिम फैसला आउने सम्भावना छ। अदालतले छुट्टै मिति तोकेन भने सोही दिन निर्णय आउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

गत पुस ३० गते महान्यायाधिवक्ता सविता भण्डारीले लामिछानेमाथि लागेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी मुद्दा फिर्ता लिन स्वीकृति दिएकी थिइन्। सो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको हो।

उक्त रिटमाथि यसअघि आइतबार र सोमबार पनि सुनुवाइ भए पनि हेर्दाहेर्दैमा राखिएको थियो। अब बाँकी रहेको जवाफी बहसपछि अदालतको अन्तिम निर्णय आउने तयारी रहेको छ।

ADVERTISEMENT