काठमाडौं। जनकपुरको तिरहुतिया गाछीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उद्घोष सभा गरेको ठ्याक्कै एक महिनापछि बुधबार नेपाली कांग्रेसले सोही स्थानमा प्रतिज्ञा सभा आयोजना गर्‍यो। गत माघ ५ गते रास्वपाले यहीँबाट चुनावी अभियान सुरु गरेको थियो।

रास्वपाका वरिष्ठ नेता बालेन शाहले त्यतिबेला आफूलाई ‘मधेसी छौरा’ बताउँदै मैथिली भाषामा करिब १० मिनेट सम्बोधन गरेका थिए। छोटो तर प्रभावकारी भाषणले मधेसका नागरिकको ध्यान खिचेको थियो। माघ ६ गते झापा–५ मा उम्मेदवारी दर्ता गरेपछि उनले देश दौडाहा सुरु गरेका थिए।

बुधबार संयोगवश रास्वपाको धनगढी सभा र कांग्रेसको जनकपुर सभा सँगसँगै सुरु भयो। धनगढीमा बालेनले करिब ३ मिनेट मात्र बोले। उनले भने, “रास्वपा यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो।” सुदूरपश्चिमलाई ‘सु–नजिक प्रदेश’ बनाउनुपर्ने उनको भनाइ थियो। भोट नदिए पनि कामको अवसर दिन आग्रह गर्दै उनले विकासमुखी सन्देश दिए।

बालेनको संक्षिप्त सम्बोधनपछि सभापति रवि लामिछानेले पनि छोटो भाषण गर्दै आफू देशकै समस्या समाधान गर्न आएको बताए। “सिंहदरबार जलाउने होइन, बदल्ने हो,” उनले भने।

उता जनकपुरमा कांग्रेसको सभा सुरु भइरहँदा उद्घाटन सत्र नै जारी थियो। पुराना दलका नेताहरूले लम्बेतान भाषण गर्ने परम्परा दोहोरिँदै आएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि माओवादी केन्द्रका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्य शीर्ष नेताहरू लामो भाषणका लागि परिचित मानिन्छन्।

राजनीतिक विश्लेषकहरूका अनुसार छोटो, स्पष्ट र प्रभावकारी सम्बोधन गर्न अतिरिक्त तयारी र मेहनत आवश्यक पर्छ। १७औँ शताब्दीका फ्रान्सेली दार्शनिक ब्लेज पास्कलको भनाइ उद्धृत गर्दै उनीहरू भन्छन्— छोटो र प्रभावकारी सन्देश दिन बढी समय र सोच आवश्यक हुन्छ।