काठमाडौँ। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंकले बुझाएको प्रतिवेदन अपेक्षाअनुसार नभएको भन्दै असन्तुष्टि जनाएको छ। समितिले प्रतिवेदनमा आवश्यक तथ्य, तथ्याङ्क र माग गरिएका विषय स्पष्ट रूपमा समावेश नभएको निष्कर्ष निकाल्दै पुनः संशोधित प्रतिवेदन पेश गर्न निर्देशन दिएको हो।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले यसअघि असार ५ गते दिएको निर्देशनअनुसार तथ्य र तथ्याङ्कसहितको संक्षिप्त प्रतिवेदन उपलब्ध गराउन भनिएको भए पनि राष्ट्र बैंकले बुझाएको प्रतिवेदनमा अपेक्षित विवरण समावेश नभएको जनाएको छ।

समिति सभापति कृष्णहरि बुढाथोकीका अनुसार राष्ट्र बैंकले समितिले माग गरेका विषय पर्याप्त रूपमा स्पष्ट नपारेकाले आवश्यक विवरण समेटेर पुनः प्रतिवेदन बुझाउन निर्देशन दिने निर्णय गरिएको छ। समितिले यसअघि उठाइएका सबै विषय प्रस्ट रूपमा उल्लेख गरी अद्यावधिक प्रतिवेदन उपलब्ध गराउन राष्ट्र बैंकलाई आग्रह गरेको छ।

ADVERTISEMENT

बैठकमा सहभागी समिति सदस्यहरूले पनि प्राप्त प्रतिवेदन अपूर्ण रहेको भन्दै थप स्पष्टता आवश्यक रहेको धारणा राखेका थिए। उनीहरूले संसदीय समितिको निर्देशनलाई गम्भीर रूपमा पालना गर्न राष्ट्र बैंकलाई सुझाव दिएका छन्।

ADVERTISEMENT

यस्तै, समितिले आगामी मौद्रिक नीतिको तयारीका सन्दर्भमा विज्ञ, अर्थविद् तथा सम्बन्धित सरोकारवालासँग छुट्टै छलफल गर्ने निर्णयसमेत गरेको छ। समितिले उक्त छलफलबाट प्राप्त सुझावलाई आगामी नीति निर्माण प्रक्रियामा उपयोग गर्ने अपेक्षा गरेको छ।

ADVERTISEMENT