काठमाडौं । नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकसम्बन्धी अर्थ समितिको प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको छ। बुधबार बसेको अर्थ समितिको बैठकले समितिका सभापति डा. कृष्णहरि बुढाथोकीको आग्रहमा प्रतिवेदन सर्वसम्मतिले पारित गरेको हो।
बैठकमा सभापति बुढाथोकीले समितिका सदस्यबाट प्राप्त सुझाव तथा सल्लाहका आधारमा विधेयकमाथि दफावार छलफल गरी सर्वसम्मत निर्णय गरिएको बताए। समितिका निर्णयकै आधारमा प्रतिवेदन तयार पारिएको भन्दै उनले प्रतिवेदनमा बैठकबाट भएका निर्णयबाहेक अन्य विषय समावेश भए–नभएको समेत जाँच गरिएको जानकारी दिए।
बुढाथोकीले आवश्यक ठानेमा समितिका सदस्यले थप सुझाव तथा धारणा अर्थ समिति सचिवालयमा लिखित रूपमा अभिलेख गराउन सक्ने व्यवस्था रहेको बताए।
उनका अनुसार नेपाल राष्ट्र बैंक ऐन संशोधनको प्रक्रियाले मुलुकको आर्थिक विकासमा संरचनागत परिवर्तन ल्याउन सक्ने विषयमा समितिमा छलफल भएको छ। विशेषगरी राष्ट्र बैंकको नेतृत्व कसरी चयन गर्ने र नेतृत्वले कसरी कार्यसम्पादन गर्ने भन्ने विषयमा छलफल केन्द्रित रहेको उनले बताए।
सभापति बुढाथोकीले ऐन संशोधन हुँदै गर्दा मुलुकले आर्थिक रूपमा फड्को मार्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै प्रतिवेदनलाई सर्वसम्मत रूपमा अघि बढाउन सदस्यहरूलाई आग्रह गरेका थिए।






