काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले महामन्त्रीमा विपिनकुमार आचार्य रोजेका छन् । त्यही भएर एक से एक चर्चित नेताले आफ्नो उम्मेदवारी फिर्ता लिएर आचार्यलाई समर्थन गरेका छन् ।
पछिल्लोपटक रञ्जु दर्शनाले पनि आचार्यलाई साथ दिएकी छन् । यसअघि शिशिर खनाल, जगदीश खरेल, कविन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपानेले विपिनलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका थिए । योसँगै विपिनको पल्ला भारी भएको छ ।
महामन्त्री पदका लागि चारजनाले प्रतिस्पर्धा गर्दैछन् । जसमा आचार्य, मनिष झा, गणेश कार्की र सागर ढकाल छन् । झा सभापति रवि निकट हुन् । कार्की र ढकाल भने रास्वपा वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह बालेन निकट हुन् ।
सुरुमा रास्वपा महामन्त्रीका लागि ११ जनाले उम्मेदवारी दिएका थिए । सातजनाले फिर्ता लिइसकेका छन् । रास्वपा महामन्त्रीमा विपीन आचार्य र मनीष झाबीच कडा टक्कर हुने देखिएकाे छ ।








