काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा महामन्त्री पद बालेन शाह पक्षबाट थपिने भएको छ। पार्टी स्रोतका अनुसार, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र ऊर्जा मन्त्री कुलमान घिसिङबीच भएको सहमतिअनुसार पदाधिकारी पद थप्ने निर्णय गरिएको हो।
रास्वपाको आइतबार बसेको केन्द्रीय समिति बैठकले चार जना पदाधिकारी थप्ने निर्णय गरेको छ। बैठकले सहमहामन्त्री र सहप्रवक्ता पदमा १/१ जना थप्ने निर्णय गरेको छ। स्रोतका अनुसार थपिएका पदाधिकारीहरूको वितरण ६०/४० को अनुपातमा भएको छ, जहाँ कुलमान घिसिङ पक्षलाई ६० प्रतिशत र बालेन पक्षलाई ४० प्रतिशत हिस्सा दिइएको छ।
यसअघि उपसभापति पद कुलमान घिसिङलाई दिने सहमति भइसकेको छ। रास्वपा स्रोतका अनुसार सहमहामन्त्री र सहप्रवक्ता पदमा उज्यालो नेपाल पार्टीका प्रतिनिधि रहनेछन्।
हालसम्म बालेन पक्षले प्राप्त गर्ने महामन्त्री र कुलमान पक्षबाट हुने सहमहामन्त्री तथा सहप्रवक्तामा कुन व्यक्ति हुने निश्चित भइसकेको छैन।
पार्टी स्रोतले भने, “थपिएको पदाधिकारीको जिम्मेवारी बालेन पक्षले पाएका छन्। उनीहरूले कुन व्यक्तिलाई पदाधिकारी बनाउनेछन् भन्ने कुरा हाल अन्तिम भइसकेको छैन।”






