चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनअघि बस्ने अन्तिम केन्द्रीय समिति बैठक शनिबार भरतपुरमा सुरु भएको छ। दियालो फुडल्याण्डमा दिउँसो साढे २ बजेदेखि सुरु भएको बैठकले महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न एजेन्डा पारित गर्ने तयारी गरेको छ।
बैठकको सुरुवात सभापति रवि लामिछानेको स्वागत मन्तव्यबाट भएको थियो। त्यसपछि महाधिवेशन आयोजक उपसमितिका संयोजकहरूले तयारीबारे जानकारी गराएका छन्।
पार्टीका प्रवक्ता मनिष झाका अनुसार बैठकले आइतबारदेखि भरतपुरमा सुरु हुने महाधिवेशनका प्रतिनिधिहरूको अन्तिम नामावली अनुमोदन गर्नेछ। साथै विधान संशोधन प्रस्ताव, महाधिवेशनमा प्रस्तुत गरिने प्रतिवेदन तथा अन्य महत्वपूर्ण विषयमा छलफल गरी निर्णय लिने कार्यसूची रहेको छ।
रास्वपाले विधान संशोधनमार्फत केन्द्रीय समितिको सदस्य संख्या बढाउने तथा महिलाको सहभागिता विस्तार गर्ने प्रस्ताव पनि अघि सारेको छ। सचिवालयले यसअघि नै केन्द्रीय समितिमा पठाएका एजेन्डामाथि छलफल गरी पारित गरिने र ती विषय महाधिवेशनमा अनुमोदनका लागि पेश गरिनेछन्।
यो बैठकलाई पहिलो महाधिवेशनअघि पार्टीको अन्तिम औपचारिक केन्द्रीय समिति बैठकका रूपमा हेरिएको छ। आवश्यक परे अनौपचारिक बैठक भने बस्न सक्ने जनाइएको छ।
महाधिवेशनका लागि केन्द्रीय समिति सदस्य, नेता तथा प्रतिनिधिहरू चितवन पुग्ने क्रम जारी रहेको छ।






