काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक सामान्य बढेर बन्द भएको छ । निरन्तर घट्दै आइरहेको नेप्से परिसूचक आज सामान्य वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १.६३ अंकले बढेर २७०२.११ विन्दुमा पुगेको छ । १३ उपसमूहमध्ये सात उपसमूहको परिसूचक बढेको छ । आज वित्त, जलविद्युत, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। बिहीबार तीन अर्ब ४१ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको थियो । शुक्रबार ३५३ स्टकको ६१ हजार १७० पटकको कारोबारमा चार अर्ब ५३ करोड ४९ लाख ८३ हजार रुपैयाँबराबरको एक करोड नौ लाख २२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
ग्लोबल आइएमई बैंक लिमिटेड डिबेञ्चर २०८६/८७ शीर्ष स्थानमा छ। कम्पनीको ३३ करोड ११ लाख २२ हजार रुपैयाँबराबरको ऋणपत्र कारोबार भएको छ। ग्लोबल आइएमई बैंक डिबेञ्चर २०८४/८५ को कारोबार रकम साढे ३२ करोड रुपैयाँ र सोपान फर्मास्यूटिकल्सको २० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ।
एपोलो हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। सेयरमूल्य ११९ रुपैयाँ ४० पैसा बढेर ९१६ रुपैयाँमा अन्तिम कारोबार भएको छ। सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य १४ प्रतिशत बढेको छ भने सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयरमूल्य ९ प्रतिशत बढेको छ।






