काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवालाई दुई दिनभित्र बयानमा उपस्थित हुन म्याद पठाएको छ । ई–पासपोर्ट खरिद अनियमितता प्रकरणमा परेको उजुरीमा अख्तियारले उनलाई अनुसन्धानका लागि म्याद तामेल गरेको हो ।

अख्तियारका कर्मचारी राणाको बूढानीलकण्ठस्थित खण्डहर घरमा पुगेर म्याद टाँसेर फर्किएको छ । राणा विदेशमा रही सम्पर्कमा नभएको भन्दै अख्तियारले खण्डहरमा परिणत भएको घरमा पुगेर म्याद तामेल गरेको हो ।

ADVERTISEMENT

वडाका प्रतिनिधिहरूको रोहबरमा म्याद तामेली गरिएको थियो । म्याद तामेली प्रक्रियामा देउवा परिवारका कुनै सदस्य सामेल थिएनन् । देउवा दम्पती हाल उपचारका क्रममा विदेशमा छन् । दुवैले आगामी साउन मसान्तसम्म नेपाल आउने जानकारी गराएका छन् ।

आयोगले वडा कार्यालयमा पत्र पठाएकाले देउवा परिवारको सम्बन्धित व्यक्तिलाई बुझाइएको बुढानीलकण्ठ नगरपालिका-२ का वडाध्यक्ष राजेन्द्र श्रेष्ठले बताए । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिज भानु देउवालाई बोलाएर म्याद तामेलीको पत्र बुझाएको उनको भनाइ छ ।

ADVERTISEMENT

आयोगले मंगलबार देउवाको निवासमा आरजु राणाको नाममा पत्र पठाएको हो । उनको घर बुढानिलकण्ठ नगरपालिका-२ मा पर्छ ।

अख्तियारमा पासपोर्ट छपाइको ठेक्कापट्टा प्रक्रियामा राणाको संलग्नता रहेको दाबीसहित उजुरी परेको छ । अहिले उजुरीमाथि प्रारम्भिक अनुसन्धान भइरहेको छ । साथै, यो प्रकरणमा देउवाका छोरा जयवीर देउवाको पनि संलग्नता देखिएको भन्दै अख्तियारले सूक्ष्म अध्ययन थालेको छ ।