काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनाल नौ महिनासम्म आफूलाई कुनै पनि जिम्मेवारी नतोकिएको भन्दै संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग रुष्ट भएका छन् । एकीकृत समाजवादीसँग एकता गरेको कात्तिकदेखि असारसम्मको अवधिमा आफूलाई पेण्डुलम बनाएर राखेकोमा उनले आक्रोश व्यक्त गरेका हुन् ।

खनाल एमालेका पूर्वअध्यक्षसमेत हुन् । उनले अहिलेसम्मको राजनीतिमा कहिल्यै पनि यसरी भूमिकाविहीन बनेर बस्नु नपरेको भन्दै पार्टी नेतृत्वको आलोचना गरेका छन् । उनले बुधबार प्रचण्डलाई ३६ बुँदे पत्र पठाउँदै विभिन्न प्रस्ताव र आरोपसमेत लगाएका छन् ।

ADVERTISEMENT

‘म कम्युनिष्ट आन्दोलनमा २०२० सालदेखि संलग्न हुँदै आएको र २०२६ सालदेखि निरन्तर पार्टी कमिटीमा संगठित भएर नेपाल र नेपाली जनताको राष्ट्रिय स्वतन्त्रता तथा सामाजिक मुक्तिका निम्ति संघर्ष गर्दै आइरहेको छु। त्यस क्रममा म आफैं संगठित भएर जिल्ला कमिटी सञ्चालन गर्दा होस्, कोअर्डिनेशन केन्द्र निर्माण गरेर काम गर्दा होस्, माले स्थापना गरेर काम गर्दा होस्, एमाले निर्माण गरेर काम गर्दा होस्, वा पछि विभिन्न चरणमा पार्टी एकता र पुनर्गठनका क्रममा जिम्मेवारी सम्हालेर काम गर्दा होस्, मैले कहिल्यै पनि पार्टीभित्र जिम्मेवारीविहीन अवस्थामा बस्नुपरेको थिएन,’ खनालले पत्रमा भनेका छन् ।

खनालले प्रचण्ड कहीँकतैबाट गाइडेड भएको हो कि भनेर आशंकासमेत गरेका छन् । ‘तपाईं स्वयं सरहको एउटा नेतालाई समेत कुनै जिम्मेवारी दिन नसक्नुहुन्छ, पार्टीको हितमा निर्णय लिन सक्नुहुन्न, र कमिटीको भावनाअनुरूप उचित जिम्मेवारी प्रदान गर्न सक्नुहुन्न भने, मलाई एकतामा आउनका लागि त्यत्रो आग्रह किन गर्नुभएको थियो भन्ने प्रश्न स्वाभाविक रूपमा उठेको छ,’ उनले भनेका छन्, ‘मैले विगतका अनुभव र तपाईंको राजनीतिक जीवनको अध्ययन गर्दा तपाईं अरू कसैको प्रभाव वा दबाबमा काम गर्ने नेता जस्तो लाग्दैनथ्यो। तर अहिले तपाईं कुन(कुन विवशतामा हुनुहुन्छ भन्ने कुरा बुझ्न कठिन भएको छ।’

ADVERTISEMENT

खनालले प्रचण्ड र माधवकुमार नेपाललाई पार्टी नेतृत्व छाड्न सल्लाहसमेत दिएका छन् । खनालले नेतृत्व विचलित भएको र अब यसले महाधिवेशनसम्म लैजान नसक्ने ठोकुवा गरेका छन् ।

पत्रमा वर्तमान नेतृत्वले पार्टी एकता, वैचारिक स्पष्टता र संगठनात्मक पुनर्गठन गर्न नसकेको आरोप लगाइएको छ । उनले पार्टीको अन्तरिम विधानलाई ‘सार–संग्रहवादी खिचडी विधान’ को संज्ञा दिँदै त्यसबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी निर्माण हुन नसक्ने दाबी गरेका छन् ।

खनालका अनुसार अन्तरिम विधानमा जनताको बहुदलीय जनवाद (जबज), प्रजातान्त्रिक समाजवाद, वर्तमान संविधानवाद तथा संसदीय पुँजीवादी लोकतन्त्रका तत्वहरू मिसिएका छन्। उनले यसलाई वैचारिक रूपमा असंगत र दिशाहीन दस्तावेज भएको टिप्पणी गरेका छन् । उनले पार्टी केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरी महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुपर्ने धारणा राखेका छन् ।