काठमाडौँ। नेपाल पर्यटन बोर्ड (एनटीबी) र टिकटकको सहकार्यमा पर्यटन तथा आतिथ्य क्षेत्रसँग आबद्ध पेशाकर्मीलाई लक्षित गरी ‘ट्राभल कन्टेन्ट क्रिएसन वर्कसप’ आयोजना हुने भएको छ।
डिजिटल माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यशालामा डिजिटल स्टोरीटेलिङ, छोटा भिडियो निर्माण, गन्तव्य ब्रान्डिङ, दर्शक सहभागिता वृद्धि तथा जिम्मेवार पर्यटन प्रवर्द्धनका विषयमा प्रशिक्षण प्रदान गरिनेछ।
कार्यशाला आगामी जुन २४ देखि २६ तारिखसम्म सञ्चालन हुनेछ। आयोजकका अनुसार तीन दिनसम्म चल्ने कार्यक्रममा कुल ३०० जनाको सहभागिता रहनेछ, जसअन्तर्गत प्रत्येक सत्रमा १०० जना सहभागी हुने व्यवस्था गरिएको छ।
पर्यटन व्यवसायी, होटल तथा आतिथ्य क्षेत्रका प्रतिनिधि, ट्राभल कन्टेन्ट निर्माता तथा डिजिटल प्लेटफर्ममार्फत पर्यटन प्रवर्द्धनमा रुचि राख्ने व्यक्तिहरूले कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन्।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले जुन २१ तारिख साँझ ५ बजेसम्म आवेदन दर्ता गर्नुपर्नेछ। आयोजकले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको बढ्दो प्रभावलाई ध्यानमा राख्दै नेपालको पर्यटन गन्तव्यलाई विश्वसामु प्रभावकारी रूपमा प्रस्तुत गर्न आवश्यक सीप विकासमा कार्यशाला केन्द्रित हुने जनाएको छ।
हाल विश्वव्यापी रूपमा टिकटक, इन्स्टाग्राम र युट्युबजस्ता डिजिटल प्लेटफर्म पर्यटन गन्तव्य प्रवर्द्धनका प्रमुख माध्यम बन्दै गएका छन्। यसै सन्दर्भमा नेपालका पर्यटन व्यवसायी र कन्टेन्ट सिर्जनाकर्ताको डिजिटल क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो।






