काठमाडौं । टिकटकमा धर्मसंस्कृतिलाई लक्षित गर्दै गरिएको अभद्र टिप्पणीले मधेश प्रदेशमा तनाव बढाएको छ। वीरगन्जको विभिन्न ठाउँमा आइतबार बिहानैदेखि मुस्लिम समुदायले प्रदर्शन गरेका छन् ।

धनुषामा मस्जिदमा भएको तोडफोडको विरोधमा उनीहरूले प्रदर्शन गरेका हुन् । मुस्लिम समुदायले घण्टाघर, मुर्ली, छपकैयाको इद्यगहा चोकलगायतका स्थानमा उनीहरूले सडकमै टायर बालेर नाराबाजी गरेका छन् । साम्प्रदायिक झडप हुने आशंकाले धनुषा र पर्सासहित मधेशका आठै जिल्ला सुरक्षा सतर्कता उच्च बनाइएको छ।

ADVERTISEMENT

केही दिनअघि जनकपुरमा हैदर अन्सारी र अमानत अन्सारी नामका युवाहरूले टिकटकमा हिन्दुस्तानको नाम समेटेर भिडियो पोस्ट गरेका थिए। स्थानीय अगुवाहरूका अनुसार भिडियोले धार्मिक सहिष्णुतामा असर पुर्‍याउन सक्ने खालको सामग्री समेटेको थियो। स्थानीयको दबाबपछि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

छलफलका क्रममा केही युवाहरू आक्रोशित हुँदै मस्जिदमा आक्रमण र कुरान जलाइएको बताइन्छ। घटनामा संलग्न व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको धनुषाका डिएसपी गणेश बमले जानकारी दिए। सोही घटनाको विरोधमा आइतबार बिहानैदेखि वीरगन्जमा प्रदर्शन भइरहेको छ।

ADVERTISEMENT

यसैबीच, जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा सामाजिक सद्भाव कायम गर्न आह्वान गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले समाजमा शान्ति सुरक्षा कायम राख्न सार्वजनिक अपिल गरेका हुन् । उनले सामाजिक सद्भावमा खलल पु¥याउने कुनै पनि खालको गतिविधि नगर्न अपिल गरेका छन् ।

‘एक अर्कामा सामाजिक तथा धार्मिक वा सांस्कृतिक द्वेष भाव सिर्जना गरी राष्ट्रिय एकतामा आँच पु¥याउने वा झुटा अफवाह फैलाइ समुदायको सामाजिक मानमर्दन गर्ने कार्यमा संलग्न व्यक्तिहरुको फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतको सामाजिक सञ्जाल खाताको सूक्ष्म निगरानी भइरहेको छ’, उनले भने, ‘यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिई सचेत र सजग हुन पनि अनुरोध गरिन्छ ।’